नेपाल । नेकपा (एमाले) मा पदाधिकारीको मर्यादाक्रम (वरीयता) निर्धारणको नयाँ प्रस्ताव अघि सारिएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको जिम्मेवारी हेरफेरका साथै पदाधिकारीको वरीयतासम्बन्धी नयाँ खाकासमेत पेस गर्नुभएको हो ।
एमाले सचिव डा. राजन भट्टराईका अनुसार बैठकमा नाम पेस भएकामध्ये सचिवालय बैठकबाटै नाम थपघटको निर्णय हुने छ । प्रस्तावित नयाँ वरीयता अनुसार अध्यक्ष ओलीपछिको दोस्रो स्थान अर्थात् उपाध्यक्षहरूमध्ये पहिलो नम्बरमा रामबहादुर थापा ‘बादल’ लाई राखिएको छ ।
एमाले पदाधिकारीको प्रस्तावित वरीयतामा अध्यक्ष ओली, त्यसपछि उपाध्यक्षहरू बादल, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तको नाम सिफारिस गरिएको छ । त्यसपछि महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराईको नाम प्रस्ताव गरिएको छ ।
सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, डा. राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतको नाम प्रस्ताव गरिएको छ ।
एमालेले धन्यवादसहित व्यवसायी मीनबहादुर गुरुङको जग्गा फिर्ता गर्ने प्रस्ताव अघि सारेको छ । सचिवालय बैठकमा अध्यक्ष ओलीले मीनबहादुर गुरुङले कलङ्कीमा १० रोपनी १४ आना जग्गा दिएको र पार्टी कार्यालय बनाउने भनेर शिलान्याससमेत गरेको प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेस गर्नुभएको हो । बैठकले उपाध्यक्ष पौडेलको नेतृत्वमा छ सदस्यीय संविधान संशोधन कार्यदल गठन प्रस्ताव गरेको छ ।
कार्यदलको सदस्यमा अग्निप्रसाद खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई हुनुहुन्छ । शुक्रबार बस्ने सचिवालय बैठकले यसबारे निर्णय गर्ने छ । बैठकमा एमालेका विभिन्न विभाग, प्रदेश र जिल्लाका इन्चार्जको जिम्मेवारीको विषयमा निर्णय हुने छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्