२७ बैशाख २०८३, आईतवार

बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न एमालेद्वारा ‘संसदीय बोर्ड’ गठन

कोलोराडोखबर संवाददाता , May 10th, 2026

नेपाल । नेकपा एमाले संसदीय दलको बैठकले दलको सांठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ ।

शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न ‘संसदीय बोर्ड’ गठन गरेको हो ।

एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी छ जना पदाधिकारी रहने छन् ।

बाँकी १५ सदस्यहरूमा प्रतिनिधि सभाका १०, राष्ट्रिय सभाका चार र संयुक्त समितिका दुई गरी कुल १६ वटा संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ताहरू (संयोजक) रहने गरी संरचना तयार गरिएको छ । बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ ।

वैशाख २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ । सदनको कारबाही सुचारु हुने वा नहुने भन्नेकुरा सरकारको व्यवहारमा निर्भर रहने प्रमुख सचेतक महरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्