२३ कार्तिक २०८१, शुक्रबार

पर्यटनः मकवानपुर बुढिचौरको ऋषेश्वर गुफा र खुडेधार पदमार्ग योजनाको काम अलपत्र

कोलोराडोखबर संवाददाता , February 18th, 2024

नेपाल (हेटौंडा) । बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडासँगै जोडिएको मकवानपुरगढी गाउँपालिका पर्यटनको निकै नै सम्भावना बोकेको गाउँपालिका हो । पुर्वमा वडा नम्बर २ मा रहेको ऐतिहासिक मकवानपुरगढी दरबार र पश्चिममा वडा नम्बर ४ मा रहेको मनकामना मन्दिर पर्यटनका प्रवर्द्धनका लागि निकै नै सम्भावना रहेका स्थानहरु हुन् ।

यि स्थानहरुमा अहिले पनि दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न आउने गरेका छन् । शनिबार र बिदाका दिनहरुमा भने त्यो संख्या हजार भन्दा बढी हुने गरेको स्थानीयहरु बताउँछन् । वडा नम्बर ४ मा रहेकोे मनकामना मन्दिर हेटौंडा बजारबाट नजिक भएकाले बिहानको र बेलुकाको पैदाल यात्राका लागि हेटौंडा बजारबाट आउने संख्या पनि उल्लेख्य रहने गरेको छ । यसैको फलस्वरूप मन्दिर आसपास होटल ब्यवसाय गर्नेहरुको संख्या पनि बढीरहेको वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिनाले बताउनुभयो । मन्दिर आउने बाटो अहिले सहज भएकाले मकवानपुरबाट मात्र नभै छिमेकी जिल्लाहरु र छिमेकी देश भारतको बिहारबाट समेत पर्यटकहरु घुम्न आउने गरेको उहाँ बताउनुहुन्छ ।

त्यस्तै वडा नम्बर २ मा रहेको ऐतिहासिक मकवानपुरगढी दरबार क्षेत्रमा पनि पछिल्लो समय पर्यटकहरुको भिड लाग्ने गरेको छ । पृथ्वीनारायण शाहको ससुराली समेत रहेका सेन वंशिय राजाहरुले शासन गरेको यो गढी नेपालका गढीहरु मध्ये ठुलो गढी अन्तरगत पर्दछ । यसलाई ठुलो गढी भनेर पनि भन्ने गरिएको छ । प्रचुर पर्यटकीय सम्भावना रहेकोे यस ठाउँमा घुम्न मात्र नभै पिकनिक खानका लागि समेत टाढाटाढाबाट मानिसहरू आउने गरेको हुँदा शनिबार र बिदाका दिनहरुमा त पिकनिक खाने स्टलहरु समेत पाउन मुस्किल हुने गरेको छ ।

पर्यटकको भिड बढ्नुका साथै हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सोहि स्थान हुँदै जाने भएकाले गढी आसपासका क्षेत्रहरुमा स्तरीय होटल तथा रिसोर्टहरु खुलिरहेका छन् । जिपलाईन खेलमा रमाउन चाहनेहरुका लागि मकवानपुरगढी रिसोर्टले जिपलाईनको निर्माण गरेको छ । दरबार परिसरको पुर्वी पट्टी ताप्लाखर्कमा रहेको सो रिसोर्टबाट चढेर ऐतिहासिक मकवानपुरगढी दरबार परिसरको नजिकै ओर्लने गरि सो जिपलाईन बनाइएको छ भने त्यसको लम्बाई १ किलोमीटर रहेको छ ।

यति मात्र नभै मकवानपुरगढी गाउँपालिका भित्र रहेका अन्य स्थानहरुमा पनि पर्यटन प्रवर्द्धनका लागि उत्तिकै सम्भावना रहेका छन् । सो स्थान मध्येको वडा नम्बर ८ बुढीचौरमा रहेको ऋषेश्वर गुफा र खुँडेधार पदमार्ग पर्यटनका लागि निकै सम्भावना बोकेका स्थानहरु हुन् ।

मकवानपुरगढी गाउँपालिकाका पुर्व अध्यक्ष बिदुर हुमागाईको नेतृत्वमा रहेको यस अघिको स्थानीय सरकारले यस क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गरि यस क्षेत्रको पहिचान गराउने उदेश्यले यसको गुरुयोजना सहित निर्माणको थालनी गरेको थियो । बागमती प्रदेश सरकार र स्थानीय सरकारको समपुरक बजेट गरि सो क्षेत्रमा १ करोड ५० लाखको काम गरिएको गाउँपालिकाका पुर्व अध्यक्ष हुमागाईले बताउनुभयो । गुफा भित्र रहेको महादेवको मन्दिरलाई ब्यवस्थित बनाउने , गुफा तथा मन्दिरका सबै ठाउँमा सहज पुग्नका लागि झोलुङ्गे पुलको निर्माण गर्ने , गुफाको माथिल्लो भागमा रमणीय पार्कको निर्माण गर्ने तथा खुँडेधार पदमार्गको बनाउन बाँकी रहेको स्थानमा सिढी तथा फलामेबार र तारजाली लगाई पर्यटकलाई हिड्न सजिलो बनाउने उदेश्य र योजना सहित काम गरिरहेको अवस्थामा २०७९ सालको स्थानीय निर्वाचन पछि गाउँपालिकाको नेतृत्व परिवर्तन भए सँगै ति सबै काम अलपत्र रहेको र थप काम केहि नभएको हुमागाईले बताउनुभयो ।

सिङ्गो मकवानपुरगढी गाउँपालिकालाई पर्यटनको हब बनाउनुपर्छ भन्ने उदेश्यले सोहि अनुसारको योजना सहित त्यस बेलामा कामको थालनी गरिएको उहाँको भनाई रहेको छ । जस अनुसार गाउँपालिकाको वडा नम्बर ४ मा रहेको मनकामना मन्दिर , सोहि वडामा रहेको सहिद रुद्र पार्क , तल्लो कालोखोलाको घट्टेदमारमा रहेको पशु मैत्री पार्क, वडा नम्बर ३ मा पालिकाको सदरमुकाम पनि रहेको र सो क्षेत्रमा पशुपालन र दुध उत्पादनको प्रचुर सम्भावना देखिएकाले सोहि अनुसारका कार्यहरुलाई ब्यवस्थित गर्ने, वडा नम्बर २ को शिखरकटेरीमा एकीकरण विजय पार्क , रानी चौतारो, माथिल्लो ढुङ्गेगढी , वडा नम्बर १ मा रानीबास टुरिजम पार्क निर्माण गर्ने लक्ष्य राखिएको थियो ।

त्यस्तै वडा नम्बर ६ मा रहेको मातातिर्थ स्थल , धनेश्वरधाम , अदालत डाँडा , वडा नम्बर ५ मा सहिद बासुदेव पार्क , जलेशवर धाम जस्ता स्थानहरुलाई पर्यटकीय गन्तव्य रुपमा विकास गर्ने उदेश्य राखिएको भए पनि निर्वाचन पछि सरकार परिवर्तन भए सँगै सोचे अनुसारको काम नभएको स्थानीयहरुको आरोप रहेको छ । नयाँ कामको थालनी ता कता हो कता रु पुराना कार्यहरुलाई समेत निरन्तरता दिन नसकेको उनीहरुको भनाई रहेको छ ।

यसैबीच मकवानपुरगढी पर्यटन विकास समितिले शनिबार मकवानपुरगढी ८ मा रहेको ऐतिहासिक पदमार्ग खुँडेधार, ऋषेश्वर गुफा , वडा नं ६ मा रहेको मातातिर्थ, धनेश्वरधाम लगायत स्थानहरुको अध्यन अवलोकन गरेको छ । अवलोकनका क्रममा समितिले त्यस ठाउँको पर्यटन प्रवर्द्धनका लागि त्यहाँको सम्भावनाहरुका बारेमा गाउँपालिकाका पुर्व अध्यक्ष हुमागाईसँग छलफल गरेको छ ।

केहि दिन अघि पनि पालिकाका पूर्वअध्यक्ष हुमागाईको अगुवाईमा मकवानपुर क्षेत्र नम्बर २ का सांसद महेश बर्तौलाले समेत त्यस ठाउँहरुको विकासका सम्भावनाका विषयमा अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्