३ आश्विन २०८१, बिहीबार

ललिता निवास प्रकरणः ८८ जना दोषी ठहर, सबै जग्गा जफत हुने फैसला

कोलोराडोखबर संवाददाता , February 16th, 2024

नेपाल । ललिता निवास प्रकरणमा विशेष अदालतले ८८ जनालाई दोषी ठहर गरेको छ । ललितानिवास परिसरको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने ८८ जनालाई दोषी ठहर गरी सबै जग्गा जफत हुने फैसला समेत सुनाएको छ ।

बिहीबार विशेष अदालतका न्यायाधीशत्रय डा. खुसीप्रसाद थारु, राम बहादुर थापा र रितेन्द्र थापाले सरकारी जग्गा व्यक्तिको बनाउन संलग्न सरकारी कर्मचारी, विचौलिया, भूमाफिया र गैरकानुनी लाभ लिने ८८ जना दोषी ठहर गरेका हुन् । हाल आफ्नो नाममा जग्गा रहेकामध्ये ६५ जनाको जग्गा जफत भएको छ भने २१ जनाले सफाई पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातसहित पूर्व सचिव छविराम पन्तसमेत दोषी ठहर भएका छन् । पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाई दिएको छ भने पूर्व सचिव दिनेशहरि अधिकारीले पनि सफाई पाएका छन् ।

भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङलाई सरकारी जग्गा गैरकानुनी लाभ लिई आफ्नो नाममा ल्याएको कसुरमा समेत ८० लाख ४८ हजार जरिवाना र दुई वर्ष कैद र जग्गासमेत जफत भएको छ ।

शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई पनि जनही २ वर्ष कैद र ८० लाख ४८ हजार रुपैयाँ जरिवाना सुनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्