१७ जेष्ठ २०८३, आईतवार

अभिनेतृ जल शाहकी छोरी कलशद्वारा शिक्षा फाउन्डेसन स्थापना

कोलोराडोखबर संवाददाता , February 17th, 2025

नेपाल । अभिनेतृ जल शाहकी १६ वर्षीय छोरी कलश रिमालले नेपालका दुर्गम भेगमा शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले शिक्षा फाउन्डेसन स्थापना गर्नुभएको छ ।

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकामा कक्षा ११ मा अध्ययनरत कलशले आफ्नो गैरनाफामूलक सामाजिक संस्था ‘शिक्षा फाउन्डेसन’ स्थापना गरेको औपचारिक घोषणा गर्नुभएको हो ।

बुवाआमाले टीका लगाएर दिएको दक्षिणा, जन्मदिनमा उपहारका रूपमा पाएको रकम सङ्कलन गरेर उनले शिक्षा फाउन्डेसनमार्फत समाज सेवाको थालनी गरेको उहाँले जानकारी दिनुभयो । अमेरिकामै जन्मिएर उतै हुर्किए पनि आफूलाई नेपाल, नेपाली भाषा तथा नेपालको दुर्गम भेगका बालबालिकासम्म शिक्षाको पहुँच पुग्नु पर्छ भन्ने उद्देश्यले आफूले संस्थागत रूपमा समाज सेवाको थालनी गरेको उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो । अभिनेतृ जल शाहले आफ्नी दिवङ्गत आमा साहित्यकार प्रेमा शाहको गुण आफ्नी छोरीमा सरेको स्मरण गर्दै कलशले नेपालमा समाज सेवाप्रति देखाएको रुचिलाई आफ्नो परिवारको समर्थन रहने बताउनुभयो ।

पत्रकार सम्मेलनमा उक्त समारोहसमेत समेटिएको जानकारीमूलक भिडियो सामग्री पनि प्रदर्शन गरिएको थियो । समारोहमा पत्रकार ऋषि धमलाले आगामी वर्षदेखि दिवङ्गत साहित्यकार तथा कलशकी हजुरआमा प्रेमा शाहको नाममा एक लाख रुपियाँ राशिको प्रेमा शाह साहित्यिक पत्रकारिता पुरस्कार प्रदान गरिने घोषणा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्