१० असार २०८२, मंगलवार

अमेरिकामा नेपाल पत्रकार महासंघले शाखा खोल्ने

कोलोराडोखबर संवाददाता , December 12th, 2024

अमेरिका । नेपाल पत्रकार महासंघले अमेरिकामा शाखा खोल्ने भएको छ । लामो समयदेखि चर्चामा रहेको यस विषयलाई टुङ्गोमा पुर्याउन महासंघले तयारीलाई तिब्रता दिएको हो ।

अमेरिकामा रहेका नेपाली भाषी पत्रकारहरुलाई समेटेर महासंघले शाखा खोल्न लागेको जनाइएको छ। महासंघले अमेरिकामा आफ्नो शाखा खोल्ने कार्यभारसहित महासंघका पूर्व केन्द्रीय सदस्य आङछिरिङ शेर्पालाई तदर्थसमितिको संयोजकमा मनोनित गरेको छ ।

महासंघले शेर्पालाई संयोजक तोकेसंगै महासंघको विधान अनुसार सदस्यता वितरण गरी तीन महिना भित्र अमेरिका शाखाको प्रथम अधिवेशन गराउन जिम्मेवारीसमेत सुम्पेको छ ।

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारीद्वारा हस्ताक्षरित पत्रमा मनोनित संयोजक शेर्पालाई महासंघको केन्द्रीय कार्यालयसंग समन्वय गरी आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ। अमेरिकामा महासंघको शाखा खोल्ने तयारी निकै अघिदेखि नै भइरहेको भएतापनि, शेर्पाको नियुक्ति प्रक्रियालाई लिएर भने प्रश्न उठाएको छ।

यस सम्बन्धमा तदर्थ समितिको संयोजकमा मनोनित शेर्पाले आफू हर्ष न बिस्मातको अवस्थामा रहेको प्रतिक्रिया दिएका छन् । उनले यस वियषमा अमेरिकामा रहेका सम्बन्धित संघ संस्थाहरु, पत्रकारहरु तथा सरोकारवालाहरुसंग आवश्यक छलफल र सरसल्लाह गरेर अघि बढ्ने बताए ।

आङछिरिङ शेर्पा नेपाल अमेरिका पत्रकार संघ (नेजा)का पूर्व अध्यक्षसमेत हुन् । उनले नेजाको दुइ वर्षीय कार्यकाल २०१२–२०१४ सम्म अध्यक्षको बागडोर सम्हालेका थिए । शेर्पा हाल नेजाको कार्यसमितिका सल्लाहकारसमेत रहेका छन् । उनले अहिले अमेरिकामा रहेर नेपाली भाषाको अनलाइन पत्रिका एभरेष्ट टाइम्स सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्