नेपाल । नेपाल (एकीकृत समाजवादी) ले पार्टीको १०औं महाधिवेशनका सम्बन्धमा पत्रकार आइतबार सम्मेलन सम्पन्न गरेको छ ।
उक्त अवसरमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एउटा विशिष्ट राजनीतिक परिस्थितिमा जन्मेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन यहि असार १६–२० मा काठमाडौंमा आयोजना हुँदैछ। करिब दुई हजार प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागितामा राष्ट्रिय प्रज्ञाप्रतिष्ठानमा आयोजना हुने उक्त महाधिवेशनलाई नेपालका सबै कम्युनिष्ट तथा प्रगतिशील लोकतान्त्रिक जनवर्गको महाधिवेशनका रूपमा सम्पन्न गर्ने हाम्रो दृढसङ्कल्प सबैलाई जानकारी गराउन पाउँदा हामी हर्षित छौँ। यसै सन्दर्भमा आयोजित यो पत्रकार सम्मेलनमा तपाईँ सम्पूर्ण सञ्चारकर्मी मित्रहरूलाई हार्दिक स्वागत गर्दछौँ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संविधानको रक्षाका लागि हामीले गरेको विद्रोह मुलुकको राजनीतिक इतिहासमा एउटा विशिष्ट योगदान थियो। उक्त विद्रोहपछिका विगत ३३ महिनामा हामीले एकपछि अर्को चुनौतीको सामना गर्दै र महत्वपूर्ण शिक्षा आर्जन गर्दै आएको छौँ । सबैभन्दा महत्वपूर्ण कुरा के छ भने कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणका लागि हामीले लिएको पहलकदमीलाई महाधिवेशनद्वारा संस्थागत गर्ने ऐतिहासिक कार्यभार सम्पन्न गर्ने बिन्दुमा आइपुगेका छौँ । मुलुकको समृद्धि र समाजवादी रूपान्तरणको रूपरेखामा आधारित राजनीतिक प्रतिवेदन, नेपाली विशेषतामा आधारित समाजवादी कार्यक्रम, त्यसलाई बहन गर्न सक्ने क्रान्तिकारी तथा लोकतान्त्रिक पार्टी निर्माणका ठोस प्रस्ताव र विधानसहित महाधिवेशनको आयोजना हुनु नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा ऐतिहासिक महत्वको परिघटना हो। ‘दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ’ भन्ने मूल नाराका साथ हामीले तय गरेका तात्कालिक र दीर्घकालिन कार्यभारहरुले नेपालका कम्युनिष्ट तथा समाजवाद पक्षधर सबै शक्तिहरूलाई सुदूर भविष्यसम्म वैचारिक तथा साङ्गठानिक मार्गदर्शन गर्ने छन्, कम्युनिष्ट आन्दोलनमा नयाँ चरणको एकताको आधार तयार गर्नेछन् र अहिलेका आर्थिक, सामाजिक तथा राजनीतिक गतिरोध, अन्योल र अस्थिरताको अन्त्य गर्दै राष्ट्रिय राजनीतिमा प्रगतिशील तथा लोकतान्त्रिक स्थायित्वको प्रत्याभूतिका लागि नयाँ ढोका खोल्ने छन् ।’
यसैबीच, नेकपा (एकीकृत समाजवादी) ले १०औँ राष्ट्रिय महाधिवशेनको लोगो सार्वजनिक गरेको छ ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी लोगो सार्वजनिक गरेको हो । लोगोमा दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ नारा उल्लेख छ । लोगोमा कम्युनिस्ट पार्टीको झन्डा र नेपालको राष्ट्रिय झन्डालाई संयोजन गरी कलात्मक बनाइएको छ ।
सो लोगोलाई अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले संयुक्त रूपमा सार्वजनिक गर्नु भएको हो । एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्