७ मंसिर २०८३, सोमबार

‘प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक’

कोलोराडोखबर संवाददाता , November 23rd, 2026

नेपाल । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक विकास र समृद्धिका क्षेत्रमा परिणाममुखी सहकार्यको आधार तयार गरेको बताएका छन्।

मन्त्री खनालले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार साँझ प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनुका साथै दुवै देशका नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने वातावरण निर्माण गरेको उल्लेख गरे।

प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा गरे राजकीय भ्रमणका क्रममा दुई देशबीच कनेक्टिभिटी, ऊर्जा साझेदारी, व्यापार तथा आर्थिक सहकार्य र जनस्तरको सम्बन्ध विस्तारलगायत विषयमा महत्त्वपूर्ण सहमति भएको परराष्ट्रमन्त्री खनालले जानकारी दिए।

भ्रमणका अवसरमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले ‘विकसित भारत–समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दूरदृष्टि दस्तावेज जारी गर्नुभएको छ।

उक्त दस्तावेजले आर्थिक तथा विकास साझेदारी, भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल, ऊर्जा सहकार्य, जलवायु उत्थानशीलता, विपद् जोखिम न्यूनीकरण, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनलगायत क्षेत्रमा सहकार्य अघि बढाउने आधार तयार गरेको छ।

मन्त्री खनालका अनुसार दस्तावेजले नेपाल–भारत सम्बन्धलाई समयानुकूल बनाउन पुराना सन्धि, सम्झौता र सहमतिहरूको पुनरावलोकन तथा आवश्यकताअनुसार परिमार्जन गर्ने बाटोसमेत खुला गरेको छ।

सन् १९५० को सन्धिलगायत पुराना सन्धिहरूको पुनरावलोकनका विषयमा पनि यसले नयाँ सम्भावना सिर्जना गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्