नेपाल । मकवानपुरको भीमफेदी गाउँपालिका –६, चिसापानी गढीमा बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय गाडी (इभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।
दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिलाई दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।
समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाङ्कर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र बागमती प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका कानुन अधिकृत सदस्य रहनुभएको छ ।
समितिले दुर्घटनामा परेको सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राखिएको वा नराखिएको, रुट इजाजत, चालकको अवस्था र सडकको भौतिक अवस्थाबारे छानबिन गर्नेछ । आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायले अपनाउनु पर्ने उपायसमेत प्रतिवेदनमा समेटिनेछ ।
बिहीबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय गाडी सडकबाट करिब पाँचसय मिटर तल खसेर दुर्घटना भएको थियो । छठ पर्व मनाउन ललितपुरको टीकाथलीबाट सर्लाहीस्थित घर फर्किंदै गरेका यात्रु सवार उक्त गाडीमा एउटै गाउँका छिमेकी तथा आफन्त रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा चालक सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशङ्कर कुमार मण्डल, चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका २६ वर्षीय विकेश यादव, २८ वर्षीया पुनमदेवी यादव, उहाँका छोरीहरू सात वर्षीया दीक्षा, पाँच वर्षीया दीपिका र १० वर्षीया अनुकुमारी यादव रहेका छन् ।
त्यस्तै, ३६ वर्षीय गुड्डु यादव, उहाँकी ३२ वर्षीया श्रीमती गायत्री देवी यादव, २६ वर्षीय रामदुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि मृत्यु भएको छ । मृत्यु हुने अन्य तीन जना सोही स्थानका ३५ वर्षीया राकेश यादव, २८ वर्षीय छोटु राय भन्ने रामप्रसाद यादव र १८ वर्षियाा सुधेश यादव रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन् । सर्लाही चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल बस्ने ३३ वर्षिय मुकेश यादव, ५ वर्षिय सक्षमकुमार यादव र २६ वर्षिय देवेन्द्र राय डिस्चार्ज हुनुभएको हो ।
घाइतेमध्ये ३ वर्षीय सुजन यादव र १४ महिनाका सुदीप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल तथा ३१ वर्षीय बेचु भन्ने देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्