नेपाल । नेपाली कांग्रेससहित सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले न्यायालयको निष्पक्षता, प्रहरी तथा सुरक्षा निकायको कार्यशैली र प्रेस स्वतन्त्रतामाथि उठेका प्रश्नको निरूपण गर्न तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले राज्यका महत्वपूर्ण निकायको कामकारबाहीमाथि उठेका प्रश्न संसदमा छलफल गरेर टुङ्ग्याउनुपर्ने निष्कर्ष निकालेको हो ।
राज्यका महत्वपूर्ण निकायको निष्पक्षता र पारदर्शितामाथि जनस्तरमा शङ्का उत्पन्न भएकाले त्यसको विश्वसनीय निरूपण संसद्बाटै हुनुपर्ने बताउँदै आङ्देम्बेले भन्नुभयो, “राज्यका महत्वपूर्ण निकायले सम्पादन गर्ने काम निष्पक्ष र पारदर्शी छैन कि भन्ने शङ्का उत्पन्न भएको छ । यस्ता गम्भीर विषयको विश्वसनीय निरूपण संसद्भित्रैबाट खोज्नु पर्छ ।”
नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले राष्ट्रियता, जनजीविका, लोकतन्त्र र संविधानमाथि उठेका प्रश्नमा संसद्मा गम्भीर बहस आवश्यक रहेको बताउनुभयो । त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति अन्त्यका लागि व्यापक सुधार र पुनर्गठन आवश्यक रहेको बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्