१७ कार्तिक २०८३, मंगलवार

इटहरीमा नेपथ्यको कन्सर्ट हुँदै

कोलोराडोखबर संवाददाता , November 3rd, 2026

नेपाल । नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक सुनसरीको इटहरीमा सांगीतिक प्रस्तुति दिने भएको छ । इटहरीस्थित रंगशालामा आगामी कात्तिक १८ गते बुधबार नेपथ्यको कन्सर्ट आयोजना हुन लागेको हो ।

पूर्वाञ्चल इन्टरटेनमेन्ट प्रालिको आयोजनामा हुन लागेको कार्यक्रममा नेपथ्यका अमृत गुरुङसहित ब्यान्डका सदस्यले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नुहुनेछ । कार्यक्रमका लागि भौतिक रूपमा टिकट बिक्री गर्ने कार्य सम्पन्न भइसकेको र अब थप दुई दिन अनलाइनमार्फत टिकट बिक्री गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार नेपथ्यको प्रस्तुति हेर्न कोशी प्रदेशका विभिन्न जिल्लासहित पूर्वी नेपालका आसपासका क्षेत्रबाट दर्शकले टिकट खरिद गरेका छन् । परिवार तथा समूहमासमेत दर्शकले टिकट खरिद गरेकाले कार्यक्रममा उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको बताइएको छ । इटहरीमा स्थानीय आयोजककै पहलमा यस स्तरको सांगीतिक कार्यक्रम आयोजना हुन लागेको यो पहिलोपटक भएको आयोजकको भनाइ छ ।

यसअघि ठुला सांगीतिक कार्यक्रम आयोजना गर्न बाहिरका आयोजक आउने र स्थानीय पक्षले व्यवस्थापनमा सहयोग गर्ने गरेकोमा यसपटक स्थानीय संस्थाले नै अग्रसरता लिएर कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रमले पूर्वी नेपालको सांगीतिक पर्यटनको विकास र प्रवद्र्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । नेपाली मौलिक संगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल नेपथ्यको प्रस्तुति हेर्न विभिन्न जिल्लाबाट दर्शक आउने भएकाले इटहरीको पर्यटन तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने बताइएको छ ।

कार्यक्रमले इटहरीलाई पूर्वी नेपालको प्रमुख सांगीतिक तथा सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कन्सर्टमा सहभागी हुन आउने दर्शकका कारण स्थानीय होटल, यातायात, व्यापार तथा अन्य व्यावसायिक गतिविधिसमेत चलायमान हुने आयोजकले जनाएको छ ।

इटहरी उपमहानगरपालिकाको संरक्षण तथा पर्यटन, वन तथा वातावरण मन्त्रालय र कोशी प्रदेशको प्रवद्र्धनमा आयोजना हुन लागेको कार्यक्रमको मुख्य प्रायोजक सक इनर्जी ड्रिंक्स रहेको छ । कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक तयारी तीव्र पारिएको छ ।

दर्शकको सहज प्रवेश, सुरक्षा व्यवस्था तथा कार्यक्रमस्थल व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको आयोजक संस्थाका प्रबन्ध निर्देशक कुलबहादुर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्