-लक्ष्मण आचार्य-
झरी परेको दिन
आकाश होइन,
मनभित्रै कता कता
मौनतको बादल मडारिहन्छ
झ्यालका सिसामा
थोपा–थोपा बाछिट्टाले
लेखिरहेछ तिम्रो नाम,
र म बिस्तारै औँलाले छुन्छु
पानीका थोपाहहरू
तिम्रो सम्झना अझ गाढा बन्छ
बाहिर
रुखहरू भिजिरहेका छन्,
बलेँसीमा तप्किरहेछ पानी
मेरो मन
त्यही पुरानो यादमा
अल्झिरहेको छ,
थाहा छ तिमीलाई
हाम्रो त्यो सुखद् भेट
त्यो दिन पनि त
झरी परेको थियो
तिमी छाता नलिई आएकी थियौ
म पनि छाता नलिई गएको थिएँ
र हामी प्रेममा निथ्रुक भिजेका थियौँ
तिमीले केही भनिनौ,
मैले पनि केही भनिनँ,
तर थाहा छ प्रिया ?
हामी दुबैको मौनताबीच
हामी दुबैको हृदयमा
प्रेम फक्रिएको थियोे !
आज
फेरि उसैगरी झरी परिरहेको छ
म तिमीलाई सम्झिई रहेको छु
धेरै धेरै मिस्ड गरिरहेको छु
लाग्छ ,
झरी जति पटक झरिरहन्छ
आकाशबाट
मेरो मनमा तिम्रो सम्झना
उति उति गाढा बन्दै गइरहेको छ
तिमीले छोएको
त्यो सुखद् स्पर्श
सायद हृदयबाट कहिल्यै मेटिने छैन
-चन्द्रपुर, रौतहट ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्