२६ भाद्र २०८३, शुक्रबार

नेपाल एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश

कोलोराडोखबर संवाददाता , September 11th, 2026

नेपाल । सामान्य स्कोर रक्षा गर्दै नेपाल एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायुमास क्रिकेट ओभलमा बिहीबार भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भएको थियो। कमजोर ब्याटिङपछि नेपालको एसिया कप खेल्ने सपना अधुरै रहने सम्भावना देखिएको थियो । तर नेपाली स्पिनरहरूले उत्कृष्ट बलिङ गरेपछि ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो र नेपालले एसिया कप खेल्ने सम्भावना कायम राखेको छ ।

अब नेपाल एसिया कपमा दोस्रो पटक सहभागी हुन एक जित मात्र टाढा छ। एसिया कप छनोट प्रतियोगिताका रूपमा रहेको यस प्रतियोगिताको उपाधि विजेताले एसिया कप खेल्ने प्रावधान छ। सन् २०२३ मा एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको थियो ।

अब नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच हुने फाइनलको विजेताले आगामी एसिया कप खेल्नेछ । बिहीबार भएको अर्को सेमिफाइनलमा युएईले हङकङलाई सात विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

नेपालको जितमा स्पिनर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन–तीन तथा ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिनुभयो । ओमानका लागि प्रारम्भिक ब्याट्सम्यान जतिन्दर सिंहले ४१ बलमा सर्वाधिक २५ रन बनाउनुभयो । ओमानको ब्याटिङलाई नेपाली बलरले सुरुदेखि नै दबाबमा राखेका थिए।

यसअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ७६ बलमा चार चौकासहित सर्वाधिक ५१ रन बनाउनुभएको थियो । बसिर अहमदले पनि ८८ बलमा ४७ रनको महत्वपूर्ण पारी खेल्नुभएको थियो । यी दुईले पाँचौँ विकेटका लागि ९३ रनको साझेदारी गरेपछि नेपालले प्रतिस्पर्धात्मक स्कोर तयार पारेको थियो ।

ओमानका लागि जय ओडेडारा र हस्नैन शाहले तीन–तीन तथा मोहम्मद इमरानले दुई विकेट लिनुभयो ।

प्रतिक्रिया दिनुहोस्