३१ श्रावण २०८३, आईतवार

कविता: एउटा रङ

कोलोराडोखबर संवाददाता , August 16th, 2026

-राम उदित-

एउटा इन्द्रेणी साँझ
आँखामा आएर बसेको छ
रङ्गैरङ्गले भिजेर
म त्यसैत्यसै रोमाञ्चित
भएको छु
तिमी छैनौ
छैन कुनै एउटा रङ
साँझको गोधुलीमा
आकासको सुनौलो रङ देखेर
आउँछौ कि भन्ने विश्वासमा
म तिमी सम्झिहेछु
सबथोक हुनु
र तिमी नहुनु
फेरि पनि एउटा रङ नभएजस्तो
कहाँ हो कहाँ क्षितिजतिर
एकोरिरहेछ नजर
लहरहरू
सलबलाइरहन्छन्
मन बादलको भुवासरि
उडिरहेछ कतै
छिचोलेर
अजङ्ग जीवनका पहाडहरू
म निकै माथि देउरालीमा
पुगेको छु
तर कताकता आफ्नै
छाँया आँफैसँग नभएजस्तो
एउटा नमिठो
रिक्ततामा दुखिरहेछ
अस्तित्वको एक गीत
कतै एक अँगालो माया
लिएर मैलाई
पर्खिरहेकी छौ
भन्ने विश्वासमा
मैल बरफको
पहाड टेक्न सकेको छु
जीवनको यो
इतिहास लेख्न सकेको छु
पाइला पाइलामा
मैले सम्झिरहेने नाम
सायद तिमी नै हौ
जीवनका हर मोडहरूमा
मैले गुनगुनाइरहने गीत
सायद तिमी हौ
साँच्चौ ! तिमी नहुनु
सारङगीमा
सुर नभएजस्तो !
जीवनको वसन्तमा कुनै
एउटा रङ नभएजस्तो !

चन्द्रपुर, रौतहट ।

प्रतिक्रिया दिनुहोस्