१२ श्रावण २०८३, मंगलवार

न लामो भाषण, न लामो बिदाई- केबल साहित्यको रास

कोलोराडोखबर संवाददाता , July 28th, 2026

-हेम गिरी-
जुलाई १८ तरिका शनिबारको दिन साँझ ५ बजे तिर कोलोराडोको आकाशमा सूर्य अस्ताउँदै थियो, तर Aurora को The People’s Building भित्र भने नेपाली भाषाको ज्योति चम्किरहेको थियो । २१३ औँ भानु जयन्तीको अवसर पारेर ग्लोवल भुटनिज कम्युनिटी अफ कोलोराडो र कोलोराडो नेप्लिज कम्युनिटीले आयोजना गरेको एउटा साहित्यिक उत्सवले प्रवासको माटोलाई पनि चुँदी रम्घाको सुगन्धले भरिदियो । व्यस्त अमेरिकी जीवनबीच पनि नेपाली भाषाप्रेमीहरू एक ठाउँमा भेला भएर आदिकवि भानुभक्त आचार्यलाई श्रद्धाञ्जली अर्पण गर्न तयार थिए ।

टाढा विदेशको भूमिमा बसेर पनि नेपाली भाषालाई माया गर्ने यी प्रवासीहरूले नेपाली भाषालाई एउटा पुल बनाएका छन् जसले नेपाल र प्रवासबीच, पुरानो पुस्ता र नयाँ पुस्ताबीच जोड्ने काम गरेको छ । भानुभक्तले जसरी संस्कृतको रामायणलाई जन–जनको आँगनमा पुर्‍याए, त्यसरी नै यिनीहरूले पनि नेपाली भाषालाई अमेरिकाको आधुनिक शहरहरूमा जीवन्त राखिरहेका छन् । कार्यक्रम स्थलमा पस्नेबित्तिकै मीठो हावा बहिरहेको थियो जुन हावा भानुभक्तको प्यारो स्वर बोकेर आएको थियो । जुन हावा चुँदी–रम्घाबाट उडेको हावा थियो ।

उपस्थित साहित्यप्रेमीहरू नेपालबाट आउनु भएका प्रसिद्ध रेडियोकर्मी तथा मिठो स्वरका धनी अच्युत घिमिरेलाई र डा. नवराज लम्सालको वाणी सुन्न आतुर थिए । डा. लम्साल, मदन पुरस्कारबाट सम्मानित महाकाव्यकारले आदिकविको तस्बिरमा माल्यार्पण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो । त्यतिबेला लाग्थ्यो, भानुभक्त आफैं मुस्कुराइरहनुभएको छ। सबै एकसाथ उठेर श्रद्धा व्यक्त गरे ।

त्यसपछि सुरू भयो मन छुने दृश्य, जुन अमेरिकामा मात्र होइन । प्रवासमा देख्दै नदेखिने दृश्य । देखिए पनि बिरलै मात्र देखिने दृश्य । त्यो थियो अमेरिकामा जन्मेका, हुर्केका नेपाली बालबालिकाहरूको रामायण वाचन । तिनका कोमल स्वरमा “रामायण” का पदहरू गुञ्जिँदा लाग्थ्यो, संस्कृतको गहिराइ र नेपालीको सरल मिठास दुवै एकै ठाउँमा फुलिरहेका छन् । यो देखेर जसलाई पनि नेपाली भाषा कहिल्यै मर्दैन, यो अमर छ भन्ने लागिरह्यो । यो प्रस्तुतिले प्रवासमा रहेका नेपाली भाषीहरूको भाषाप्रतिको गहिरो समर्पणलाई उजागर गरेको थियो ।

भानुभक्तले जसरी संस्कृतलाई जन भाषामा ल्याएर भाषिक एकता कायम गरे, त्यसैगरी प्रवासका यी नेपालीहरूले अंग्रेजीको बाढीमा नेपाली भाषालाई जोगाएर आफ्नो पहिचान बचाइरहेका छन् । उनीहरूले नयाँ पुस्तालाई भाषा, संस्कृति र साहित्यसँग जोड्ने काम गरिरहेका छन् भन्ने स्पष्ट सन्देश समेत दिइरहेको थियो । उनीहरुको त्यो सुन्दर प्रस्तुति पछि कार्यक्रम संचालक मनि खालिङ राईले कार्यक्रमको मुख्य आकर्षण अच्युत घिमिरेलाई स्टेजमा बोलाउनु भयो । घिमिरे जो, विशेषगरी रेडियो र टेलिभिजनमा साहित्यिक कार्यक्रम सञ्चालनका लागि परिचित हुनु हुन्छ । श्रुती संवेग, र बुलबुल कार्यक्रम मार्फत नेपाली साहित्य, कविता, गजल, कथा र सिर्जनात्मक अभिव्यक्तिलाई श्रोतामाझ पुर्‍याएर लोकप्रिय हुनु भएको छ ।

जसको प्रस्तुति हेर्न कोलोराडोको विभिन्न शहरहरूबाट नेपाली भाषी साहित्यप्रेमिहरू Aurora को त्यो स्थलमा भेला भएका थिए त्यो साँझ । उहाँको प्रस्तुतिले हललाई जादूको संसार बनायो । बाँसुरीको मधुर धुनमा सर्वजित राई र कीबोर्डको सुमधुर संगतमा गणेश गजमेरले साथ दिएका थिए । झण्डै दुई दर्जन देश-विदेशका सर्जकहरूका कविता, गजल र लघुकथाहरू उनले भावपूर्ण स्वरमा वाचन गर्नु भयो ।

प्रत्येक शब्दले हृदयलाई छुन्थ्यो, प्रत्येक लयले आत्मालाई हल्लाउँथ्यो । उहाँको स्पष्ट उच्चारण र भावुक अभिव्यक्तिले उपस्थिति दशर्कहरुलाई मन्त्रमुग्ध बनाएको थियो । घिमिरेको हरेक कार्यक्रममा सशक्त वाचन, स्पष्ट उच्चारण र भावपूर्ण प्रस्तुतीका रहेको नै हुन्छन अनि यो कार्यक्रममा पनि त्यहि विशेषताले निरन्तरता पाइरहेको थियो । कार्यक्रम आफ्नै दिशा अनि शैलीमा अगाडि बढिरहेको थियो । अच्युत घिमिरे बडो मज्जाले साहित्यिक रचनाहरू वचन गरिरहनु भएको थिए । सर्वजित राईको बाँसुरी र गणेश गजमेरको कीबोर्डको अझ मधुर संगतले वातावरणलाई अझ मीठो बनाइरहेको थियो । यसै क्रमा उहाँले आफूसँगै स्टेजमा लगेको कागजको पन्ना पल्टाउँदै बिर्ख गुरुङको कलात्मक रचना प्रस्तुत गर्ने जमर्को गर्नु भयो ।

सबैभन्दा हृदयस्पर्शी क्षण चाहिँ विर्ख गुरुङको ‘सरेको नाति’ कविता थियो । घिमिरेले मधुर आवाजमा सो कबिता प्रस्तुत गर्दा हलमा सन्नाटा छायो । कविताले शरणार्थी जीवनको पीडा, नेपाली भएर पनि ‘पराई’ ठानिने यथार्थ र अटुट नेपालीपनको गहिरो आकांक्षालाई छोयो । वाचन सकिँदा धेरै दर्शकका आँखा रसाएका थिए, कोही ताली बजाइरहेका थिए । घिमिरेले यसो भन्दै विर्खको ‘सरेको नाति’ नामक रचना मधुर आवाजमा प्रस्तुत गर्नु भयो …..

म नेपाली हुँ
तर कहाँको नेपाली ?
यो प्रश्नले मलाई हरपल काटिरहन्छ।
मेरो जन्म त यही माटोमा भयो, तर त्यो माटो सधैँ मेरो भएन।
सीमाना त कागजमा कोरियो,
तर मेरो जीवनको सीमाना कसले कोर्यो?

विर्खको रचना प्रस्तुत गरि सक्दा नसक्दा कार्यक्रममा उपस्थित दर्शकहरुमा भाबुक देखिन्थे । विर्खले नेपाली भाषी भएर पनि शरणार्थीको रुपमा नेपालमै बस्नु परेको यथार्थलाई कवितामा कुर्नु भएको थिए । यो यस्तो एउटा साहित्य कार्यक्रम थियो, जहाँ कुनै लम्बेतान भाषण थिएन, कुनै कृत्रिमता थिएन । शुद्ध साहित्यिक रस मात्र थियो । अतिथिहरूबाट समाजसेवी तथा लेखक नारायण श्रेष्ठ, साहित्यकार ज्ञानेन्द्र गदल अनि समाजसेवी केदार खतिवडाहरूले मन्तव्य राखे पनि कार्यक्रममा शुद्ध साहित्यिक रस मात्र अनुभव गर्न सकिन्थ्यो ।

अन्य कार्यक्रममा जस्तो गरि यस कार्यक्रममा दर्शकहरु कार्यक्रम नसकिंदै उठेर हिड्ने गरेको पनि देखिएन । कार्यक्रमको सुरुमा भेला भएका दर्शकहरु कार्यक्रममा अन्तिम समय सम्म आफ्नो स्थानमा बसिरहेका थिए । यो कार्यक्रमले प्रवासमा नेपाली भाषा जोगाउने समुदायको अथक प्रयासलाई उजागर गरेको थियो । भानुभक्तले जसरी संस्कृतको रामायणलाई आम जनताको भाषामा ल्याएर भाषिक एकता कायम गरे, त्यसैगरी यी प्रवासी नेपालीहरूले अंग्रेजीको महासागरमा नेपाली भाषाको एउटा सुन्दर टापु बनाइरहेका छन् । नयाँ पुस्तालाई भाषा, संस्कृति र साहित्यसँग जोड्ने यो प्रयास अतुलनीय छ ।

-कोलोराडो, अमेरिका । 

प्रतिक्रिया दिनुहोस्