१० श्रावण २०८३, आईतवार

डा. गोबिन्द केसीका माग सम्बोधन गर्न चिकित्सक संघको आग्रह

कोलोराडोखबर संवाददाता , July 26th, 2026

नेपाल । नेपाल चिकित्सक संघले नेपालको चिकित्सा शिक्षा एवं स्वास्थ्य क्षेत्रको सुधारका लागि २४ औँ पटक आमरण अनशनमा बस्नुभएका प्राडा गोविन्द केसीको जीवन रक्षाका लागि अपिल गरेको छ ।

सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै डा. केसी पुनः आमरण अनशनमा बस्नु परेको परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

डा. केसी चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि विभिन्न सुधारका माग उठाउँदै मिति २०८३ साउन ७ गतेदेखि २४ औँ पटक आमरण अनशनमा हुनुहुन्छ ।

अनशनका क्रममा उहाँको स्वास्थ्यमा विभिन्न जटिलताहरू उत्पन्न भइरहेको सङ्घले जनाएको छ।​उहाँको उमेर र हालसालै सम्पन्न भएको शल्यक्रियाबाट स्वास्थ्य लाभ गरिरहेको परिस्थितिलाई मध्यनजर गर्दा उहाँको स्वास्थ्य स्थिति थप जोखिमपूर्ण बनेको विज्ञप्तिमा उल्लेख छ।

सङ्घले डा।केसीले उठाएका जायज मागको अविलम्ब र उपयुक्त समाधान निकाली उहाँको अमूल्य जीवन रक्षा गर्न सरकार तथा सम्बद्ध निकायलाई गम्भीर बन्न ध्यानाकर्षण गराएको छ।

​संघका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा “​उहाँको उमेर, हालसालै सम्पन्न गरिएको शल्यक्रियाबाट स्वास्थ्य लाभमा रहनुभएको स्थितिलाई मध्यनजर गरी उहाँको जीवन रक्षाका लागि उहाँले उठाउनुभएका जायज मागलाई हदैसम्मको संवेदनशीलताका साथ उपयुक्त समाधानका लागि आवश्यक पहल गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार लगायत सम्पूर्ण सरोकारवालालाई हार्दिक आग्रह गर्दछ।”उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्