३२ असार २०८३, बिहीबार

इंग्ल्यान्डलाई २-१ गोलले पराजीत गर्दै अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश

कोलोराडोखबर संवाददाता , July 16th, 2026

नेपाल । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।

अटलान्टा स्टेडियममा भएको रोमाञ्चक तथा सनसनीपूर्ण सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै अर्जेन्टिनाले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।

खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक र रक्षात्मक रह्यो। दुवै टोलीले सुरुवाती समयमा गोलका खासै ठूला अवसरहरू सिर्जना गर्न सकेनन्। तर, दोस्रो हाफको ५५ औँ मिनेटमा मोर्गन रोजर्सको उत्कृष्ट क्रसमा एन्थोनी गोर्डनले आकर्षक गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाए।

गोल खाएपछि अर्जेन्टिनाले इंग्ल्यान्डमाथि लगातार आक्रमण गर्यो । खेल सकिन ५ मिनेट मात्र बाँकी रहँदा लियोनेल मेसीको पासमा एन्जो फर्नान्डेजले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित देखिँदै गर्दा, इन्जुरी समयको दोस्रो मिनेटमा फेरि मेसीकै पासमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सनसनीपूर्ण जित दिलाए।

अब उपाधिका लागि आगामी आइतबार न्युयोर्क न्यू जर्सी (मेटलाइफ स्टेडियम) मा अर्जेन्टिनाले स्पेनको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्