७ असार २०८३, आईतवार

अन्तरराष्ट्रिय योग दिवस मनाईंदै

कोलोराडोखबर संवाददाता , June 21st, 2026

नेपाल । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आइतबार अन्तरराष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरीे देशभर मनाइँदै छ।

अन्तरराष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तरराष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ। सन् २०१६ देखि २१ जुनमा अन्तरराष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो।

नेपालमा २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो। नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ। त्यसैगरी, त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभागअन्तर्गत योग विषयको अध्ययन एवं अध्यापन सुरु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्