५ असार २०८३, शुक्रबार

फिफा विश्वकपः क्यानडा, दक्षिण अफ्रिका, स्विट्जरल्याण्ड र घानाको जीत

कोलोराडोखबर संवाददाता , June 19th, 2026

नेपाल । फिफा विश्वकप २०२६ मा क्यानडाले ९ खेलाडीमा समेटिएको कतारलाई आधा दर्जन गोल हानेको छ ।

भ्यान्कुभरको बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६–० को फराकिलो र ऐतिहासिक जित दर्ता गरेको हो । क्यानडाको यस एकपक्षीय जितमा स्टार स्ट्राइकर जोनाथन डेभिडले उत्कृष्ट ह्याट्रिक गरे।

यता, अन्तिम समयको पेनाल्टी गोलको मद्दतले दक्षिण अफ्रिकाले चेकियासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

एटलान्टा स्टेडियममा भएको यस बराबरीसँगै फिफा विश्वकपको समूह एमा रहेका दुवै टोलीको खातामा समान १–१ अंक जोडिएको छ।

उता, जोहान मन्जाम्बीको उत्कृष्ट खेलको मद्दतमा १० खेलाडीमा समेटिएको बोस्निया एण्ड हेर्जगोभिनालाई ४–१ ले पराजित गर्दै स्विट्जरल्याण्ड समूह बी को शीर्ष स्थानमा उक्लिएको छ।

फ्राइबर्गका यी मिडफिल्डरले दोस्रो हाफमा मैदान छिर्दै दुई गोल गरेपछि स्विट्जरल्याण्डले एकपक्षीय जित निकाल्न सफल भयो ।

पहिलो हाफ बिनाकुनै गोल सकिए पनि दोस्रो हाफ निकै रोमाञ्चक र गोलले भरिएको थियो। कतारविरुद्धको आफ्नो पहिलो खेलमा बराबरी खेलेको स्विट्जरल्याण्डले यस खेलमा भने उत्कृष्ट पुनरागमन गर्‍यो ।

स्विट्जरल्यान्डको जितमा जोहान मान्जाम्बीले दुई गोल गरे भने रुबेन वर्गास र कप्तान ग्रानिट जाकाले एक–एक गोलको योगदान दिए। बोस्नियाका लागि एर्मिन माहमिकले एक सान्त्वना गोल फर्काए।

यसैबीच, फिफा विश्वकप २०२६ को समूह एल अन्तर्गत क्यानडाको टोरन्टो रङ्गशालामा भएको रोमाञ्चक खेलमा घानाले पानामामाथि १–० को कठिन तर महत्त्वपूर्ण जित निकालेको छ।

खेलको अन्तिम समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि बराबरीमा सकिने अनुमान गरिएका बेला घानाले इन्जुरी समयमा निर्णायक गोल गर्दै स्पष्ट ३ अङ्क जोड्न सफल भयो।

प्रतिक्रिया दिनुहोस्