२९ जेष्ठ २०८३, शुक्रबार

फिफा वर्ल्डकप शुरु, मेक्सिकोद्वारा दक्षिण अफ्रिका पराजीत

कोलोराडोखबर संवाददाता , June 12th, 2026

नेपाल । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले विजयी सुरुवात गरेको छ।

मेक्सिकोको ऐतिहासिक तथा आइकोनिक एज्टेका रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकामाथि २–० को सहज जित निकालेको हो ।

तीन फरक विश्वकपका खेलहरू आयोजना गर्ने विश्वकै पहिलो स्टेडियमको कीर्तिमान बनाएको अज्टेका रंगशालामा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

८० हजार दर्शकका बीच मेक्सिकोलाई जिताउन जुलियन क्विनोनेस र अनुभवी फरवार्ड राउल जिमेनेजले एक–एक गोल गरे।

अत्यन्तै प्रतिस्पर्धात्मक र केही तनावपूर्ण बनेको यस खेलमा ब्राजिलियन रेफ्रीले कुल तीनवटा रातो कार्ड देखाएका थिए।

खेलको सुरुवाती समयदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको मेक्सिकोले नवौं मिनेटमै अग्रता लिएको थियो। दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रणमा लिन नसक्दा मेक्सिकोले त्यसको भरपूर फाइदा उठायो।

इरिक लिराले मिलाइदिएको पासलाई जुलियन क्विनोनेसले उत्कृष्ट ढङ्गले गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाए।

खेलको ४२ औं मिनेटमा जुलियनले नै प्रहार गरेको अर्को एउटा बल भने गोलपोष्टमा लागेर फर्किएको थियो।

दक्षिण अफ्रिकाका गोलरक्षक रोनवेन विलियम्सले दिएको बललाई रक्षकले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाएको थियो।

चौथो मिनेटमा नै मेक्सिकोका राउल हिमिनेजले गरेको प्रहारलाई दक्षिण अफ्रिकाका गोलरक्षक रोनवेन विलियम्सले उत्कृष्ट बचाउ गरेका थिए। मेक्सिकोले त्यसबाहेक थुप्रै राम्रा अवसरमा गोल गर्न चुकेको थियो।

याया सिथोलेले रातो कार्ड पाएपछि दक्षिण अफ्रिका ५० औं मिनेटमा १० खेलाडीमा खुम्चिएको थियो । मेक्सिकाका ब्रायन गुटिरेजले एक्लै अगाडि बढाएको बलमा पेनाल्टी बक्स बाहिर लास्ट म्यानको रूपमा रहेका सिथोलेले लडाएपछि उनलाई सिधै रातो कार्ड दिइएको थियो।

मेक्सिकोका राउल जिमेनेजले दोस्रो गोल गरे । खेलको ६७ औं मिनेटमा उनले रोबर्टो अल्भारडोको उत्कृष्ट क्रसमा हेड गोल गरेका थिए।

८४ औं मिनेटमा दक्षिण अफ्रिका नौ खेलाडीमा झरेको थियो।

थेम्बा ज्वानेलाई भीएआरको सहयोगमा रेफ्रीले विपक्षी टोलीका खेलाडीलाई हातले प्रहार गरेको कारण रातो कार्ड दिइएका थिए।

मेक्सिकोले पनि आफ्ना एक खेलाडी गुमाउन पुग्यो। इन्जुरी टाइमको पहिलो मिनेटमा सेजार मोन्टेजलाई विपक्षी खेलाडीले गोल गर्ने अवसरलाई बाधक बनाएको कारण सिधा रातो कार्ड दिइएको थियो।

प्रतियोगिता अन्तरगत आज विहान पौने ८ बजे दक्षिण कोरिया र चेक रिपब्लिकबीच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्