नेपाल । फुटबलको महाकुम्भ विश्वकप विहीबार मध्यराति सुरु हुँदै छ ।
प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदै हुँदैछ ।
मेक्सिकोको प्रसिद्ध एस्ताडियो एज्तेका रङ्गशालामा घरेलु टिम र दक्षिण अफ्रिकाबिचको उद्घाटन खेल राति पौने १ बजे सुरु हुने छ।
विश्वकप फुटबल तीन देशमा आयोजना हुन लागेको यो पहिलो पटक हो। यसअघि दुई देशले मात्र संयुक्त रूपमा विश्वकपको आयोजना गरेको इतिहास छ।
विश्वकप २००२ को आयोजना दक्षिण कोरिया र जापानले संयुक्त रूपमा गरेका थिए।
विश्वकपको अर्को संस्करण पनि तीन देशमा संयुक्त रूपमा हुने पक्का भइसकेको छ। त्यसैले सन् २०३० का आयोजकहरू पोर्चुगल, स्पेन र मोरक्कोले सूक्ष्म रूपमा यस विश्वकपको अवलोकन गर्ने छन्।
३९ दिनको प्रतिस्पर्धापछि जुलाई १९ मा अमेरिकाको न्यु जर्सीको मेटलाइफ स्टेडियममा फाइनल हुने छ। त्यस रात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान ग गर्नेछन्।
फिफाले यसपालि विश्वकपमा ४८ टिमलाई सहभागी गराएको छ, जुन विगतमा भन्दा १६ राष्ट्र बढी हुन् । चार राष्ट्र कप भेर्डे, कुराकाओ, उज्वेकिस्तान र जोर्डन त नवप्रवेशी मात्र छन् ।
यसले प्रतियोगिताको समय मात्र होइन, यस पटक विश्वकप इतिहासमै सबैभन्दा बढी खेल पनि खेलिने भएको छ। विश्वकपमा कुल १०४ खेल हुन्छन्।
अमेरिकामा सबैभन्दा बढी ७६ खेल खेलिने छ । जसमा क्वाटरफाइनल, सेमिफाइनल र फाइनल पनि छन् ।
यसै गरी अमेरिकाका ११ सहर न्युयोर्क, बोस्टन, मियामी, फिलाडेल्फिया, एटलान्टा, डालास, ह्युस्टन, कानास, लस एन्जल्स, सान फ्रान्सिस्को र सियाटलका रङ्गशालामा विश्वकपको प्रतिस्पर्धा हुने छ।
मेक्सिकोका तीन सहर मेक्सिको सिटी, मोन्टर्री र ग्वाडालजारामा कुल १३ खेल खेलिने छ । क्यानडाको भागमा पनि १३ खेल परेका छन् । ती खेल टोरन्टो र भानकुभर सहरमा हुने छन् ।
मेक्सिको र अमेरिकासँग विश्वकप फुटबल आयोजनाको अनुभव छ। मेक्सिकोले सन् १९७० र १९८६ तथा अमेरिकाले सन् १९९४ मा विश्वको सबभन्दा ठुलो फुटबल प्रतियोगिताको आयोजना गरेको हो। क्यानडाले भने पहिलो पटक विश्वकप आयोजना गर्दै छ।
यस विश्वकपमा कुल पुरस्कार राशि ६५१ मिलियन डलर रहेको छ। यो कतार विश्वकपको तुलनामा ४९ प्रतिशतले बढी हो। यस वर्ष च्याम्पियनले ५० मिलियन डलर प्राप्त गर्ने छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्