नेपाल । इन्डियन प्रिमियर लिग (आइपिएल)–२०२६ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ ।
अहमदाबाद क्रिकेट रङ्गशालामा आइतबार राति सम्पन्न फाइनलमा बेंगलुरुले गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो ।
उपाधि रक्षाका लागि गुजरातले दिएको एक ५६ रनको सामान्य लक्ष्य बेंगलुरुले १८ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।
बेंगलुरुका लागि विराट कोहलीले सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । यस्तै वेङ्कटेस अय्यरले ३२, टिम डेविडले २४ र कप्तान रजत पाटीदारले १५ रन बनाउनुभयो ।
बलिङमा गुजरातका रशिद खानले दुई तथा कागिसो रवडा, मोहम्मद सिराज र अर्शद खानले एक एक विकेट लिनुभयो ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५५ रन बनाएको थियो । गुजरातका लागि वासिङ्टन सुन्दरले अविजित सर्वाधिक ५० रन बनाउनुभयो ।
यस्तै निशान्त सिन्धुले २०, जोस बटलरले १९, अर्शद खानले १५, साई सुदर्सन १२ र कप्तान शुभमन गिलले १० रन बनाउनुभयो । बलिङमा बेंगलुरुका रसिक सलामले तीन विकेट लिनुभयो । जोस हेजवुड र भुवनेश्वर कुमारले दुई दुई तथा कुर्नाल पाण्ड्याले एक विकेट लिनुभयो ।
लिग चरणमा शीर्ष स्थानमा रहेको बेंगलुरुले पहिलो क्वालिफायरमा गुजरातलाई नै हराएर फाइनलमा स्थान नबाएको थियो । यता गुजरातले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराएर फाइनल पुगेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्