नेपाल । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्धको पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि सुरक्षित राखेको छ।
बुडापेस्टको पुस्कास एरेनामा निर्धारित र थप गरिएको समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
यस जितसँगै सन् २०१६ देखि २०१८ सम्म रियल म्याड्रिडले लगातार उपाधि जितेयता च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने पीएसजी पहिलो क्लब बनेको छ।
११ दिन अघि मात्र २२ वर्षपछि प्रिमियर लिगको उपाधि जितेर उच्च मनोबलमा रहेको आर्सनलले खेलको सुरुआतमै अग्रता लिएको थियो।
छैटौँ मिनेटमा काई हाभर्टजले उत्कृष्ट गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए ।
यो गोलसँगै हाभर्टज दुई फरक क्लबबाट च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने इतिहासकै चौथो खेलाडी बनेका छन्।
आर्सनलको मजबुत रक्षापंक्तिले पहिलो हाफभर पीएसजीका स्टार खेलाडी खिचा कभारात्स्केलिया र मिडफिल्डलाई रोकेको थियो । पहिलो हाफमा पीएसजीले ३२ पटक आक्रमण गर्दा आर्सनलले मात्र ३ पटक प्रयास गरेको थियो।
तर, खेलको ६५औँ मिनेटमा आर्सनलका क्रिस्टियन म्याक्वेराले पेनाल्टी बक्सभित्र कभारात्स्केलियालाई लडाएपछि पीएसजीले पेनाल्टीको अवसर पायो। जसलाई ओस्मान डेम्बेलेले सहजै गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए।
त्यसपछि दुवै टोलीले केही राम्रा अवसरहरू सिर्जना गरे पनि गोल हुन सकेन र खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्