नेपाल । मार्कस रश्फोर्डको उत्कृष्ट फ्रि–किक गोलको मद्दतले बार्सिलोनाले आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पराजित गर्दै २९ औं पटक ला लिगाको उपाधि जितेको छ ।
सिजनका तीन खेल बाँकी छँदै बार्सिलोनाले स्पेनिस लिगको उपाधि आफ्नो कब्जामा पारेको हो ।
नाउ क्याम्पमा भएको महत्त्वपूर्ण खेलमा बार्सिलोनाले सुरुदेखि नै खेलमा नियन्त्रण जमाएको थियो । म्यानचेस्टर युनाइटेडबाट आएका इंग्ल्याण्डका फरवार्ड मार्कस रश्फोर्डले खेलको सुरुवातमै फ्रि–किकमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनको प्रहार रियलका गोलकिपर थिबाउट कोर्टुवाले रोक्ने प्रयास गरे पनि सफल हुन सकेनन् ।
खेलको १८ औं मिनेटमा ड्यानी ओल्मोको सुन्दर पासलाई सदुपयोग गर्दै फेर्रान टोरेसले दोस्रो गोल गरे ।
गोल गरेपछि रश्फोर्ड र टोरेस दुवैले प्रशिक्षक हान्सी फ्लिक तर्फ दौडिएर गोल समर्पित गरेका थिए । प्रशिक्षक फ्लिकका पिताको गत हप्ता मात्रै निधन भएको थियो, जसका कारण टोलीका खेलाडीहरू भावुक देखिएका थिए। त्यसपछि दुवै टोलीबाट कुनै गोल हुन सकेन ।
यो जितसँगै बार्सिलोनाले रियल म्याड्रिडमाथि १४ अंकको अग्रता बनाएको छ, जुन अब भेट्टाउन असम्भव छ। बार्सिलोनाको यो लगातार दोस्रो ला लिगा उपाधि हो। बार्सिलोनाले यस सिजन आफ्नो मैदानमा खेलेका १८ वटै खेलमा जित हासिल गरेको छ । रश्फोर्डले यस सिजन सबै प्रतियोगिताहरूमा १४ गोल र १४ असिस्ट गरिसकेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्