नेपाल । कवि शेखर ढुङ्गेलको कविता कृति मृत्यु–उत्सवको लोकार्पण भएको छ । साहित्यिक पत्रकार संघले आज काठमाडौँमा मृत्यु–उत्सवको सामूहिकरूपमा लोकार्पण गरेको हो ।
साहित्य प्रेमी प्रमुख आमन्त्रित रहेको कार्यक्रममा चर्चित कलाकार मदन दास श्रेष्ठ, जरामा अर्थ खोज्ने कलाकार तथा कवि नरेन्द्र बहादुर श्रेष्ठ, समालोचक प्रमोद प्रधान, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, कवि गोविन्द गिरी प्रेरणा, इतिहासविद् प्राडा सुरेन्द्र केसी, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, पत्रकार देवप्रकाश त्रिपाठी, नेपाल गीतकार संघका अध्यक्ष वसन्त थापा वित्यासी, अनेसास के.स. तारा उप्रेती (क्यानडा( तथा सर्जक साबु गदाललगायतको उपस्थिति रहेको थियोे ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा कविता कृति मृत्यु–उत्सवका भूमिका लेखकसमेत रहेका समालोचक प्रमोद प्रधानले लोकार्पित कृतिका बारेमा संक्षेपमा प्रकाश पार्दै समीक्षात्मक टिप्पणी पेश गर्नुभएको थियो ।
टिप्पणीका क्रममा उहाँले मृत्युलाई उत्सवका रूपमा देख्नु भनेको आध्यात्मिक कुरा भएको बताउनुभयो । ढुङ्गेलका कवितामा स्वदेश मोह, देश प्रेम, देशमा भएका बेथिति, भ्रष्टाचारका कुरा र जीवन दर्शनसँग सम्बन्धित व्यङ्ग्य चेतना रहेको बताउनुभयो । कविता कृतिभित्र ८३ वटा कविता रहेको बताउँदै उहाँले देश बाहिर पनि अर्को नेपाल रहेको र बाहिरको नेपालमा बसेर साहित्यको सृजना गर्नु पनि एउटा ठूलो उपलब्धि भएको बताउनुभएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्