नेपाल । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा परेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा अध्यागमन विभागले एन्फाका अध्यक्ष नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष सहित ६ पदाधिकारी तथा १४ केन्द्रीय सदस्यलाई कालोसूचीमा राख्दै विदेश जान रोक लगाएको छ।
यसअघि राष्ट्रिय खेलकुद परिषद्ले एन्फाको विषयमा छानबिन गर्न छानबिन उपसमिति गठन गरेको थियो।
सोही समितिले आर्थिक विषयमा छानबिन गर्न भन्दै नेम्बाङसहितका पदाधिकारीको पासपोर्ट कालोसूचीमा राख्न पत्राचार गरेको थियो।
युवा तथा खेलकुद मन्त्रालय हुँदै पत्र गृह मन्त्रालय पुगेको थियो। त्यसपछि गृह मन्त्रालयबाट अध्यागमन पत्र पुगेपछि एन्फाका पदाधिकारीहरूको पासपोर्ट कालोसूचीमा राखिएको हो।
पछिल्लो समय खेलकुद परिषद् र एन्फाबीच विवाद हुँदै आएको छ। आफ्नो निर्देशनविपरीत निर्वाचन गर्न लागेको भन्दै एन्फामाथि खेलकुद परिषद्ले तीन महिनाको निलम्बन गरेको थियो।
एन्फामा अनिमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको विषयमा खेलकुद मन्त्रालयमा पत्र प्राप्त भएका थिए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्