९ बैशाख २०८३, बुधबार

टी-२० आई सिरिजको दोस्रो खेलमा नेपालले युएईलाई आठ विकेटले हरायो

कोलोराडोखबर संवाददाता , April 22nd, 2026

नेपाल । टी-२० आई सिरिजको दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले पराजित गर्दै नेपाल विजयी भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा यूएईले नेपाललाई जितका लागि १२९ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले १५.५ ओभरमै मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

नेपालको जितमा कुशल भूर्तेल नायक बने। उनले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको उत्कृष्ट इनिङ्स खेले। त्यस्तै कुशल मल्लले १९ रन बनाए भने सन्तोष यादव १ रनमा आउट भए।

कप्तान दीपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याए।

यूएईका नीलांश केसवानी र मुहम्मद अरफानले समान १–१ विकेट लिए। त्यसअघि ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो।

यूएईका लागि अक्षदीप नाथले अविजित ५३ रन र मुहम्मद अरफानले ३२ रन बनाएका थिए।

नेपालका बलर सन्दीप लामिछानेले ४ ओभरमा मात्र ६ रन दिएर ३ विकेट लिए। हेमन्त धामीले २ विकेट लिए भने नन्दन यादव र शाहब आलमले समान १–१ विकेट लिए।

दुई खेलको उक्त सिरिजमा दुबै टोलीले एक एक खेल आ(आफ्नो पक्षमा पारे। हिजो भएको पहिलो खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्