नेपाल । महेन्द्र नेउपानेको दोस्रो लघुकथाकृति ‘चुनावी सेरोफेरो’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । सिर्जना अभियान समाजद्वारा भक्तपुरमा आयोजित कार्यक्रममा डा. पुष्करराज भट्ट, डा. हरिप्रसाद भण्डारी लगायतले कृति सार्वजनिक गरे ।
कार्यक्रममा प्रमुख अतिथि डा. भट्टले समकालीन लघुकथाको प्रवृत्तिबारे चर्चा गरे । कृतिमाथि समीक्षा गर्दै डा. भण्डारीले ‘चुनावी सेरोफेरो’ शीर्षक सार्थक रहेको उल्लेख गर्दै २०८२ को निर्वाचन परिवेशलाई लघुकथामा सान्दर्भिक र रोचक ढंगले प्रस्तुत गरिएको बताए ।
कार्यक्रममा लघुकथाकार लता केसीले कृतिकारको लेखनशैलीको प्रशंसा गर्दै छोटो समयमै दुई कृति प्रकाशन गर्नु उपलब्धिमूलक भएको बताइन् ।
लघुकथाकार नेउपानेले चुनाव घोषणादेखि मतदानसम्मका घटनालाई समेटेर ५९ लघुकथामार्फत कृतिलाई दस्ताबेजका रूपमा प्रस्तुत गरेको उल्लेख गरे ।
साहित्यकार ध्रुव मधिकर्मीले कृतिमा समेटिएका विषयहरू वर्तमान मात्र नभई भविष्यसँग पनि जोडिएको टिप्पणी गरे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्