२५ चैत्र २०८२, बुधबार

विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म सहकार्य गरिने

कोलोराडोखबर संवाददाता , April 8th, 2026

नेपाल । विदेश अध्ययन नेपाली युवाका लागि अवसरसँगै चुनौतीको क्षेत्र बन्दै जाँदा त्यसलाई सुरक्षित, व्यवस्थित र परिणाममुखी बनाउने पहल स्वरूप गैरआवासीय नेपाली संघ (एनआरएनए) र शैक्षिक परामर्शदाताहरूको संघ नेपाल (ईक्यान) बीच सहकार्य अघि बढाइएको छ ।

आइतबार सम्पन्न परिचयात्मक बैठकमा दुवै संस्थाका नेतृत्व तहले विद्यार्थी कल्याणलाई केन्द्रमा राख्दै दीर्घकालीन सहकार्यका आधार तयार गरिएको छ । बैठकमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा र ईक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्र्यू) सहित पदाधिकारीहरूको सहभागिता थियो।

छलफलमा विदेश जाने विद्यार्थीका लागि प्रस्थानपूर्व अभिमुखीकरण (पीडीओ) लाई थप प्रभावकारी बनाउने, सुरक्षित र सहयोगमुखी वातावरण सुनिश्चित गर्ने तथा परामर्श सेवाको गुणस्तर सुधार गर्ने विषयमा जोड दिइयो। दुवै पक्षले संयुक्त रूपमा ‘नेपाली क्यारियर पोर्टल’ विकास गरी अध्ययनपछिका रोजगारी र क्यारियर अवसरबारे एकीकृत सूचना प्रणाली तयार गर्ने विषयमा छलफल भयो ।

यस्तै, परामर्शदाताहरूको क्षमता अभिवृद्धिका लागि लक्षित तालिम सञ्चालन गर्ने, पाइलट परियोजनामार्फत विद्यार्थी सहयोग प्रणाली परीक्षण गर्ने र विभिन्न देश तथा क्षेत्रअनुसार सीप म्यापिङ गर्ने विषयमा पनि सहमति जुटेको छ। मानसिक स्वास्थ्य र मनोसामाजिक सचेतनालाई समेत प्राथमिकतामा राख्दै विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।

बैठकले स्वास्थ्य बीमा, छात्रवृत्ति सम्बन्धी सूचना प्रवाह र विद्यार्थी कर व्यवस्थापनका विषयमा नीतिगत सुधारका लागि सम्बन्धित निकायसँग संयुक्त वकालत गर्ने सहमति गरेको छ। साथै, छिट्टै औपचारिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गर्ने तयारी अघि बढाइएको छ ।

विदेश अध्ययन ‘सामान्य प्रक्रिया’ मा परिणत भइसकेको सन्दर्भमा यस क्षेत्रलाई थप व्यवस्थित र विश्वसनीय बनाउन संस्थागत सहकार्य अपरिहार्य भएको निष्कर्ष बैठकले निकालेको छ ।

यसैबीच, ईक्यानले एनआरएनएका अध्यक्ष डा. शर्मालाई अप्रिलदेखि ईक्यानको मानार्थ सल्लाहकारका रूपमा राख्ने प्रतिब्धता जनाएको छ । ईक्यानले शैक्षिक परामर्श क्षेत्रमा अनैतिक अभ्यासविरुद्ध ‘शून्य सहनशीलता’ नीति अवलम्बन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । नियमित भर्चुअल अभिमुखीकरण, एयरपोर्ट सहयोग र प्रशासनिक सहजीकरणमा सहकार्य गर्ने सहमति बैठकबाट जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्