२३ चैत्र २०८२, सोमबार

आईपीएलमा बेङ्गलोरुद्वारा चेन्नई ४३ रनले पराजीत

कोलोराडोखबर संवाददाता , April 6th, 2026

नेपाल । आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए ।

मध्यक्रमका ब्याटर टिम डेभिडले विष्फोटक ब्याटिङ गर्दै मात्र २५ बलमा ७० रनको योगदान दिए । उनले आफ्नो इनिङ्समा ८ छक्का र ३ चौका प्रहार गरे। चेन्नई ४३ रनले पराजित भएको यो रोचक खेलको एउटा फरक कीर्तिमान हो ।

१५ औँ ओभरमा ब्याटिङ गर्न आएका डेभिडले आइतबार नटआउट ७० रन बनाए । पुरुष टी–२० क्रिकेटमा १५औँ ओभर वा त्यसपछि क्रिजमा प्रवेश गरेर ७० भन्दा बढी रन बनाउने उनी विश्वकै दोस्रो ब्याटर हुन्। यसअघि सन् २०२२ मा ड्यानियल साम्सले ससेक्सविरुद्ध ७१ रन बनाएका थिए ।

आरसीबीले बनाएको २५० रनको योगफल आईपीएलमा उसको तेस्रो ठूलो स्कोर हो। यो चेन्नाईविरुद्ध कुनैपनि टोलीले बनाएको अहिलेसम्मकै उच्चस्कोर पनि हो। यसअघि सन् २०१४ मा किंग्स इलाभेन पञ्जाबले २३१÷४ र सन् २०२४ मा गुजरात टाइटन्सले २३१÷३ रन बनाएका थिए ।

आरसीबीले आईपीएलमा २५० भन्दा बढी रनको योगफल तयार पारेको यो तेस्रो पटक हो । सनराइजर्स हैदरावादले यसअघि ५ पटक ठुलो स्कोर बनाएको छ। त्यसपछि यो उपलब्ध हासिल गर्ने आरसीबी दोस्रो टोली बनेको छ ।

आरसीबीले चेन्नाईविरुद्ध लगातार चार खेलमा जितेको यो पहिलो पटक हो। यसअघि सन् २००९ देखि २०१० को बीचमा आरसीबीले लगातार तीन खेल जितेको थियो । सन् २०२४ बाट सुरु भएको यो अपराजित यात्राअन्तर्गत आरसीबीले सन् २०२५ मा पहिलो पटक चेन्नाईलाई दुवै खेलमा पराजित गरेको थियो ।

आफ्नो इनिङ्सको अन्तिम ५ ओभरमा आरसीबीले ९७ रन जोडेको छ । जुन आईपीएलको इतिहासमा संयुक्त रूपमा दोस्रो धेरै हो । सन् २०१६ मा गुजरात लायन्सविरुद्ध आरसीबीले ११२ रन बनाएको कीर्तिमान अझै कायम छ भने दिल्ली क्यापिटल्सले सन् २०२४ मा गुजरातविरुद्ध अन्तिम ५ ओभरमा ९७ रन जोडेको थियो ।

इनिङ्सको अन्तिम १० ओभरमा आरसीबीका ब्याटरले १६ वटा छक्का प्रहार गरे । यो आईपीएल इतिहासमा दोस्रो धेरै हो । सन् २०१६ मा गुजरात लायन्सविरुद्ध आरसीबीले नै १८ छक्का प्रहार गरेको थियो । आरसीबीले अन्तिम १० ओभरमा १५९ रन जोड्यो, जुन आईपीएलको संयुक्त तेस्रो उच्च स्कोर हो ।

प्रतिक्रिया दिनुहोस्