नेपाल । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछिको संघीय संसद्को पहिलो अधिवेशन बिहीबारदेखि प्रारम्भ हुँदै छ । दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २ बजे एकसाथ सुरु हुने छ ।
प्रतिनिधि सभाको पहिलो बैठक निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्ने छ भने राष्ट्रिय सभाको पहिलो बैठक सङ्घीय संसद् सचिवालयस्थित राष्ट्रिय सभा कक्षमा बस्ने छ ।
आकस्मिक र विशिष्ट परिस्थितिमा निर्वाचन सम्पन्न भएपछि करिब सात महिनाको अन्तरालमा दुवै सदनको अधिवेशन एकै पटक सुरु हुन लागेको हो । यसअघि स्थायी सभा राष्ट्रिय सभाको भने एकल अधिवेशन आह्वान भएको थियो ।
अधिवेशन आरम्भको अघिल्लो दिन बुधबार ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सर्वदलीय बैठकसमेत राख्नुभएको छ । अधिवेशनको पहिलो बैठकको कार्यसूची तथा भावी कार्यदिशाबारे छलफलका लागि केसीले बैठक बोलाउनुभएको हो । बैठकले सभामुख चयनको कार्यतालिका पहिलो बैठकबाटै अघि बढाउने समझदारीसमेत गरेको छ ।
प्रतिनिधि सभाको पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाइने छ । यस्तै, बैठकमा मन्त्रीपरिषद् गठन र कार्यभार तोकिएको जानकारीपत्र पनि पढेर सुनाइने छ । राष्ट्रपति कार्यालयबाट प्राप्त उक्त पत्र सभालाई जानकारी गराइने छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्