१९ चैत्र २०८२, बिहीबार

‘टीकापुर साहित्य महोत्सव-२०८२’ सम्पन्न

कोलोराडोखबर संवाददाता , April 2nd, 2026

नेपाल । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा सुदूरपश्चिमको टीकापुरमा आयोजित तेस्रो संस्करणको तीनदिने ‘टीकापुर साहित्य महोत्सव–२०८२’ सम्पन्न भएको छ ।

यही चैत १३ गतेदेखि सञ्चालित तीनदिने महोत्सवले भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, सामाजिक विकासका विविध सन्दर्भ तथा स्थानीय जनजीवनका अनेक आयामलाई एउटै मञ्चमा समेट्दै साहित्यिक तथा सांस्कृतिक उत्सवको रूप लिएको समाजद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

महोत्सवको तेस्रो संस्करणमा ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’को विशेष सोचमा केन्द्रित थियो । नेपालका थारू समुदायको समृद्ध मौलिकता, परम्परा, लोकजीवन, भाषा, साहित्य, कला, संस्कृतिलाई राष्ट्रिय आकर्षण र विमर्शको केन्द्रमा ल्याउने उद्देश्यका साथ सम्पन्न महोत्सव पूरा भएको विज्ञप्तिमा जनाइएको छ ।

महोत्सवमा विभिन्न विषयमा २१ वटा सत्र सञ्चालन गरिएका थिए । ती सत्रहरूमा भाषा, साहित्य, कला, संगीत, स्थानीय जनजीवन, इतिहास, पहिचान, राजनीति, समाज र समसामयिक मुद्दाहरूमा गहन छलफल र विचार विमर्श भए ।

महोत्सवको पहिलो शृङ्खलामा कर्णाली नदीमा जल विहार र थारू सांस्कृतिक नाचका प्रस्तुति थिए । दोस्रो शृङ्खलामा सडक नाटक प्रस्तुति, लेखन कार्यशाला र प्रदेशस्तरीय कविता महोत्सव सम्पन्न भए । तेस्रो शृङ्खलामा नाटक मञ्चन, थारू समुदायको लोकसंस्कृति प्रदर्शनी, बौद्धिक संवाद, काव्य श्रवण, गजल श्रवण, सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । साथै सुदूरपश्चिमको देउडा प्रस्तुति पनि प्रस्तुत गरिएका थिए ।

चौथो शृङ्खलामा थारू लोकसंस्कृतिको महत्त्वपूर्ण सम्पदा लोपोन्मुख ‘रामलीला नाच’ पनि प्रस्तुत गरिएको जनाइएको छ ।

महोत्सवमा प्रसिद्ध नाटककार अशेष मल्लको अगुवाइमा नाट्य कार्यशालाका साथै टीकापुर नगरपालिकासहित विभिन्न नगर तथा गाउँपालिकाहरूमा सडक नाटक प्रदर्शन गरिए । यसले स्थानीय युवाहरूमा रंगमञ्चप्रतिको आकर्षण बढाउनुका साथै सिर्जनात्मक अभिव्यक्तिको अवसर प्रदान गरेको समाजका संस्थापक संयोजक साहित्यकार महेशविक्रम शाहले जानकारी गराएका छन् ।

महोत्सवमा साहित्यकारहरू नीलम कार्की निहारिका र केशव दहालले लेखन कार्यशाला सञ्चालन गरे ।

महोत्सव उद्घाटनपछि प्राडा माधवप्रसाद पोखरेलले विद्वत प्रवचन प्रस्तुत गरे । साथै साहित्यकार सरुभक्त, अभिनेता नीर शाह र न्युरो सर्जन डा। वसन्त पन्तलगायतले सम्बन्धित विषयमा आफ्नो धारणा राखे । त्यसका साथै विभिन्न विषयमा अन्तरक्रिया सम्पन्न भए ।

महोत्सवको मुख्य आकर्षण ‘थारू साहित्य तथा संस्कृति’ भएकाले थारू समुदायका मौलिक गीत, नृत्य, संस्कार, संस्कृति, भेषभूषा, जीवनशैली आदिलाई विशेष स्थान दिइएको थियो ।

साहित्यकार शाहले बताएअनुसार, सम्पन्न साहित्य महोत्सवले स्थानीय स्तरमा उल्लेखनीय उत्साह सिर्जना गरेको छ । उनका अनुसार, महोत्सवमा विद्यालय तथा क्याम्पसमा हाल परीक्षा चलिरहेका कारण शिक्षक र विद्यार्थीहरूको उल्लेख्य सहभागिता हुन नसके पनि साहित्यिक समूह, सांस्कृतिक संस्था, बौद्धिक व्यक्तित्व र सर्वसाधारण नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो ।

यस महोत्सवले टीकापुर नगरलाई साहित्यिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउने विश्वास लिएको संयोजक शाहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्