नेपाल । पछिल्लो समय पश्चिम एसियाका विभिन्न मुलुकका ऊर्जा केन्द्रमा आक्रमण बढेकाले आसपासमा रहेका नेपाली नागरिकलाई सुरक्षित रहन परराष्ट्र मन्त्रालयले अपिल गरेको छ ।
पश्चिम एसियामा युद्धका कारण हालसम्म एक जना नेपालीको मृत्यु हुनुको साथै २० जना नेपाली घाइते भएका छन् । १९ जना नेपाली सामान्य उपचारपछि फर्किसकेका छन् भने एक जना उपचाररत छन् । शुक्रबार परराष्ट्र मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत हालसम्मको अवस्थाबारे जानकारी दिएको हो ।
सामाजिक सञ्जालमा युद्धको दृश्य तस्बिर राख्ने सात जना नेपाली पक्राउ परेका छन् । जसमा तीन जना संयुक्त अरब इमिरेट्समा, एक जना कुवेतमा र तीन जना साउदीमा पक्राउ परेको प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
यीबाहेक पानीजहाज कम्पनीमा काम गर्ने एक जना नेपालीलाई इरानी सेनाले पक्राउ गरेको पश्चिम एसिया, मध्यएसिया र अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले दिनुभयो । ट्रान्जिटमा अलपत्र परेका अधिकांशको समस्या समाधान भइसकेको छ । कुवेतमै रहेका अन्य ५२ नेपालीमध्ये चार जनाको साउदी अरब जान र २९ जनाको थप भिसा व्यवस्थापन गर्न बाँकी छ । पछि सम्पर्कमा आएका ११ जनालाई वैधानिकता दिलाउन थप विवरण सङ्कलन भइरहेको खड्काले बताउनुभयो ।
कुवेतलगायत श्रम गन्तव्य मुलुकका सरकारले भिसा अवधि सकिएकाको हकमा कम्तीमा छ महिनासम्म स्वतः थप हुने व्यवस्था गरिदिएको छ । उहाँका अनुसार एक परियोजनामा काम गर्ने सिलसिलामा त्यहाँ पुगेका ४० जना नेपाली नागरिकका हकमा नेपाल फर्कने बेला एयर अरेबिया विमानको उडान रद्द गर्दा समस्या भएको छ ।
विमानस्थलसम्म पुग्न टाढा भएकाले आवश्यक परेको खण्डमा समन्वय गरेर खान र बस्न राहत सहायताका लागि पहल गरिने भएको छ । उता बहराइनमा एक जना नेपाली सुरक्षा सेल्टरमा रहेका छन् भने अरू आठ जना होटलमा रहेको अवस्था छ । इरानस्थित भारतको दूतावासमा काम गर्ने थप तीन जना नेपाली सम्पर्कमा आएका छन् ।
उनीहरूलाई भारत सरकारले उद्धार गर्ने बेला सँगै नेपाल ल्याउने व्यवस्था गरिने भएको छ । उहाँले भन्नुभयो, “साउदीपूर्वका ऊर्जा केन्द्रमा आक्रमण भइरहेका छन्, त्यसैले नेपाली नागरिकले सुरक्षित रहनु पर्छ ।” त्यसअघि बहराइनस्थित अमेरिकी एयर बेस क्याम्पमा आक्रमण भएको थियो । नजिकै करिब ४५ जना नेपाली काम गर्थे । तर १० मिनेटअघि मात्र उनीहरूलाई अन्यत्र सारिएकाले कुनै क्षति हुन नसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार कुवेतमा सात, साउदीमा छ, संयुक्त अरब इमिरेट्समा १४, अबुधाबीमा दुई, कतारमा सात जना नेपाली नागरिकको शव अलपत्र परेको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्