नेपाल (रौतहट) । बज्जिका भाषामा पहिलो एकल लघुकथा कृति प्रकाशित भएको छ । नेपालमा बज्जिका भाषाको पहिलो लघुकथा सङ्ग्रह ‘गभलगी’को डिजिटल लोकार्पण गरिएको छ । बहुभाषिक साहित्यकार रेणु गुप्ताको आठौँ कृतिको रुपमा ‘गभलगी’को जुम प्रविधिबाट डिजिटल नेपाल, भारत र अमेरिकाबाट एक साथ लोकार्पण गरिएको हो ।
स्रष्टा साँझ अमेरिका, बज्जिका साहित्य समाज सर्लाही र बज्जिका साहित्य सङ्गम रौतहटको संयुक्त आयोजनामा बुधवार अबेर साँझ भएको लोकार्पण कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रा.डा. कपिल लामिछानेले लघुकथामा समसामयिक समस्याको उठान तथा समाधान खोजिएको, सूक्ष्मातिसूक्ष्म विषयवस्तुलाई उठाइएको र पात्रहरुमाथि न्याय गरिएको हुनाले नेपालको लघुकथा ‘गभलगी’ कृतिले महत्त्वपूर्ण स्थान ओगट्ने बताएका छन् ।
प्रा.डा. लामिछानेले कुनै बेला राज्यले नजान्ने बज्जिका लोकभाषाको पहिचान कायम भएको बताउँदै स्थानीय भाषामा साहित्य सिर्जनाले नेपाली साहित्यको विकासलाई सहयोग पुगेको थपेका छन् ।
हाम्रो लघुकथा केन्द्र नेपालकी लता केसीले बज्जिका भाषामा महिलाले लघुकथा कृति प्रकाशन गर्नु खुसीको कुरा भएको बताउँदै समग्र लघुकथाको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
कार्यक्रममा शुभकामना दिँदै स्रष्टा साँझ अमेरिकाका विश्वराज अधिकारी तथा सञ्जय साह मित्रले बज्जिका भाषामा नेपालको पहिलो एकल लघुकथा कृति सार्वजनिक हुनु आफैँमा सुखद रहेको बताउँदै बज्जिका लघुकथाको लागि ऐतिहासिक दिन भएको बताएका छन् ।
बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहाको सभापतित्वमा सञ्जय महतो राजद्वारा जूम प्रविधिमा सञ्चालित कृति लोकार्पण तथा परिचर्चा कार्यक्रममा ‘गभलगी’माथि बज्जिका साहित्य सङ्गम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण, बिगन साह रौनियार, रुपेश रोदन तथा भारतबाट सुरेश वर्मा तथा साधना कृष्णले कृतिमाथि आफ्नो दृष्टिकोण राखेका छन् । कृतिको विषयवस्तु, पात्र, शीर्षक, समसामयिकता तथा सन्दर्भ र कृतिको महत्त्वबारे वक्ताहरुले प्रकाश पारेका छन् ।
गुप्ताको भोजपुरी भाषामा दुई, नेपालीमा दुई र बज्जिका भाषामा चार कृति प्रकाशित छन् । सिर्जना, अनुवाद र लोककथामा रुचि रहेको गुप्ताको नव प्रकाशित बज्जिका लघुकथा कृति ‘गभलगी’मा ३४ लघुकथा सङ्कलित छन् । कृतिको प्रकाशन बज्जिका साहित्य सङ्गम रौतहटले गरेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्