-आर. आर. चौलागाईं-
राजाले चाकरहरूलाई सोध्यो-
“प्रजाहरू भोकै छन् रे हो ?”
चाकरहरूले जवाफ दिए-
“यो विरोधीहरूले चलाएको हल्ला हो
प्रजाहरू मीठा मीठा खानेकुरा खाएर
टन्न अघाएर बसेका छन्
सबै ठीक छ महाराज !”
राजाले फेरि चाकरहरूलाई सोध्यो-
“प्रजाहरू नाङ्गै छन् रे हो ?”
चाकरहरूले जवाफ दिए-
“यो पनि आतङ्ककारीहरूले चलाएको हल्ला हो
प्रजाहरू राम्राराम्रा लुगा लगाएर
खूब रमाएका बसेका छन्
सबै ठीक छ महाराज !”
राजाले चाकरहरूलाई सोध्यो-
“प्रजाहरूले न्याय पाएका छैनन् रे हो ?”
चाकरहरूले जवाफ दिए-
“यो विरोधीहरूले चलाएको हल्ला हो
प्रजाहरू दूधको दूध र पानीको पानीजस्तै
निष्पक्ष न्याय पाएर खुसी भएका छन्
सबै ठीक छ महाराज !”
राजाले फेरि चाकरहरूलाई सोध्यो-
“प्रजाहरूले दु:ख पाएका छन् रे हो ?”
चाकरहरूले जवाफ दिए-
“यो पनि आतङ्ककारीहरूले चलाएको हल्ला हो
प्रजाहरू संसारकै सबैभन्दा धेरै सुख पाएर
खुसियाली मनाइरहेका छन्
सबै ठीक छ महाराज !”
त्यसपछि देशमा ठूलो आन्दोलन भयो
गोली चल्यो, मान्छेहरू मरे र देश पुरै जल्यो ।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्