अमेरिका । बङ्गलादेशमा हालै सम्पन्न निर्वाचनपछि निर्वाचित सांसदहरू र भावी प्रधानमन्त्री तारिक रहमानले मङ्गलबार संसदको शपथ ग्रहण गर्नुभएको छ ।
सन् २०२४ को घातक जनविद्रोह र त्यसपछिको १८ महिना लामो अन्तरिम सरकारको शासनपछि यो देशमा पहिलो पटक निर्वाचित प्रतिनिधिहरूले कार्यभार सम्हालेका हुन् ।
मङ्गलबार बिहान १०ः४३ बजे ढाकास्थित संसद भवन (जातीय संसद) को शपथ कक्षमा मुख्य निर्वाचन आयुक्त एएमएम नासिर उद्दीनले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउनुभएको हो ।
शेख हसिनाको १५ वर्षे शासनकाल र त्यसपछिको सङ्क्रमणकालपछि बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का ६० वर्षीय नेता तारिक रहमानले देशको नेतृत्व सम्हाल्दै हुनुहुन्छ । उहाँ झण्डै १७ वर्षको निर्वासनपछि गत डिसेम्बरमा मात्र स्वदेश फर्किनुभएको थियो ।
राष्ट्रपति मोहम्मद साहाबुद्दिनले दक्षिण प्लाजामा प्रधानमन्त्री र मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
गत फेब्रुअरी १२ मा भएको निर्वाचनमा बिएनपी नेतृत्वको गठबन्धनले २१२ सिटमा जित हासिल गर्दै स्पष्ट बहुमत प्राप्त गरेको छ ।
यस्तै, जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट जितेर ‘शान्तिपूर्ण र सैद्धान्तिक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
अपदस्थ नेत्री शेख हसिनाको अवामी लिग पार्टीलाई भने निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो । हसिना हाल भारतमा शरणमा हुनुहुन्छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्