२९ माघ २०८२, बिहीबार

एनआरएनएको १२औँ महाधिवेशनको नीतिगत, प्राविधिक र आर्थिक बजेट पारित

कोलोराडोखबर संवाददाता , February 12th, 2026

नेपाल । एनआरएनए आईसीसीको ११२औँ बैठक अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सम्पन्न भएको छ ।

मार्च १४–१६, २०२६ मा संस्थाको १२औँ विश्व सम्मेलन तथा बृहद् एकताको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न आवश्यक सम्पूर्ण नीतिगत निर्णय, तयारीसम्बन्धी कार्यक्रम, प्राविधिक तथा आर्थिक बजेट पारित गरिएको छ।

महाधिवेशनका लागि महासचिवको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, निर्वाचन समिति लगायतका आवश्यक सबै बुँदाहरू नीतिगत रूपमा पारित गर्दै संघका विभिन्न निकायहरूको सहभागितामा सम्भवतः यस कार्यकालको अन्तिम पूर्ण बैठक अनलाइन माध्यमबाट आज फेब्रुअरी ११, २०२६ मा महासचिव गौरिराज जोशीको सञ्चालनमा भव्यता र भावुकताका साथ सम्पन्न भयो। यस अवसरमा उपस्थित तथा अनुपस्थित सबैको सहयोग र गत कार्यकालभरि गरेका योगदानको कदर गर्दै धन्यवाद ज्ञापन पनि गरियो ।

संघले संस्थाको विधान २००३ (संशोधित) तथा परराष्ट्र मन्त्रालयद्वारा प्रमाणित विधान २०२२ अनुसार नै निर्वाचन हाइब्रिड (मिश्रित प्रणाली—अनलाइन तथा भौतिक बुथ, काठमाडौँ) मोडेलमा सम्पन्न गरी संघको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय नेतृत्व २०२५–२०२७ चयन गर्ने तथा संघको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । यसका लागि विभिन्न पक्ष र समितिहरू समेटिएको “स्टेरिङ कमिटी” ले पनि उक्त विधानको परिधिभित्र रही सबै डेलिगेट्स तथा उम्मेदवारलाई सहभागी हुन हार्दिक आह्वान गरेको छ। साथै, उत्साहित सबै डेलिगेट्स तथा उम्मेदवारहरूलाई एकमुष्ट अग्रिम शुभकामना तथा हार्दिकता पनि ज्ञापन गरिएको छ।

संघको विश्व सम्मेलन राष्ट्रपतिको प्रमुख आतिथ्यतामा मार्च १४ मा सुरु हुनेछ । मार्च १५ मा अधिवेशन तथा निर्वाचन सम्पन्न हुनेछ भने प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा मार्च १६ मा निर्वाचन नतिजा सार्वजनिक भई नयाँ नेतृत्वलाई आगामी कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरिने समयतालिकासहित निर्णय गरिएको छ। साथै, प्रक्रिया सञ्चालनका लागि निर्वाचन समिति सहित परराष्ट्र मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय विश्व सम्मेलन आयोजक समिति गठन भई कार्य सञ्चालन भइसकेको जानकारी दिँदै सबै गैरआवासीय नेपालीलाई माया गर्ने सम्पूर्ण सहयोगी जनसमुदाय तथा संघ–संस्थालाई धन्यवाद ज्ञापन गरिएको छ ।

यसैगरी, संघको एकता अधिवेशनमार्फत अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा गठित परिषद्को बैठक तथा तदर्थ समितिको बैठकले पारित गर्नुपर्ने प्रस्तावहरू र उक्त परिषद्को महासचिवीय तथा आर्थिक प्रतिवेदन सम्बन्धित परिषदले तयार गरी अध्यक्ष महेश श्रेष्ठ तथा महासचिव बी।आर। लामाको समन्वयमा बैठकमार्फत बृहद् एकताको अधिवेशनमा प्रस्तुत गरिने जानकारी पनि गराइएको छ ।

यस पटक विधानअनुसार “डेलिगेट्स” ले मतदान गरे पनि आगामी कार्यकालका लागि यसै बृहद् एकताको अधिवेशनमा विधान संशोधन गरी सम्पूर्ण पञ्जीकृत सदस्यले प्रत्यक्ष मतदान गर्न पाउने व्यवस्था गर्ने गरी विधान संशोधन प्रस्ताव टेबल गरिने महासचिवको प्रस्ताव रहेको जानकारी पनि गराइएको छ ।

यसैगरि विश्व सम्मेलनलाई भव्य, सभ्य तथा आर्थिक रूपमा पनि संस्थालाई सबल बनाउने उद्देश्यले संस्थाको विश्व सम्मेलनका लागि प्रायोजन तथा समर्थन जुटाउन उपाध्यक्ष रोबिन शेरचन संयोजक तथा सचिव पारसमणि पोखरेल सदस्य सचिब रहने आर्थिक प्रयोजन तथा व्यवस्थापन समिति सहित विभिन्न तयारी समितिहरू पारित गरिएको छ। साथै, विश्व सम्मेलनको प्रमुख आर्थिक प्रयोजनसमेत तय भइसकेको जानकारी पनि गराइएको छ ।

यसैगरी, संस्थाको गरिमा अभिवृद्धि गर्न तथा गैरआवासीय नेपालीको हितमा प्रभावकारी सञ्चारको व्यवस्था गर्न आवश्यक नीति तयार गरी पेश गर्न आईसीसी बैठकले संघको मिडिया समितिलाई संयोजक फणिन्द्र पन्त मार्फत आग्रह गरेको छ। साथै, संघको साधारणसभा तथा महाधिवेशनमा एनसीसी (राष्ट्रिय समन्वय परिषद्को) मुख्य भूमिका तथा सहभागिता रहने भएकाले सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्हरूलाई आफ्नो–आफ्नो वैधानिक जिम्मेवारीसहित उत्साहित भई अन्तर्राष्ट्रिय अधिवेशनमा सहभागी हुन आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्