२९ माघ २०८२, बिहीबार

क्यानडामा विद्यालय र घरमा गोली प्रहर गरी ९ जनाको हत्या

कोलोराडोखबर संवाददाता , February 12th, 2026

अमेरिका । पश्चिमी क्यानडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

घटनामा सात जना माध्यमिक विद्यालयमा गोली हानेर मारिएका छन् । घटना रकी पर्वत मालाको फेदीमा अवस्थित सुरम्य पहाडी उपत्यका सहर ब्रिटिस कोलम्बियाको टम्बलर रिजमा भएको हो ।

रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसिएमपी) ले जारी गरेको विज्ञप्ति अनुसार कुल २७ जना घाइते भएका छन् । ती मध्ये दुई जनाको अवस्था गम्भीर छ भने अन्य २५ जनालाई विभिन्न किसिमको चोट पटक लागेको छ ।

क्यानडाली सञ्चार माध्यमले बन्दुकधारी महिला भएको जनाएका छन् । तर आरसिएमपीले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा संदिग्धको पहिचानबारे विस्तृत विवरण दिन अस्वीकार गरेको छ ।

प्रहरीका अनुसार मङ्गलबार दिउँसो टम्बलर रिज माध्यमिक विद्यालयमा सक्रिय बन्दुकधारी रहेको चेतावनी जारी गरिएको थियो । सुरक्षाकर्मीले विद्यालय परिसरको खोजी गर्दा छ जनालाई गोली हानेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए । अर्को एक जना घाइतेको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

यसैबिच प्रहरीले टम्बलर रिजस्थित एक निवासबाट थप दुई जनाको शव फेला पारेको जनाएको छ । उक्त घर घटनासँग जोडिएको विश्वास गरिएको प्रहरीले उल्लेख गरेको छ । विद्यालय परिसरभित्र गोली चलाउने व्यक्तिको रूपमा आशङ्का गरिएको व्यक्ति पनि मृत अवस्थामा फेला परेको र प्रारम्भिक रूपमा आत्महत्या जस्तो देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्