नेपाल । जापानी प्रधानमन्त्री साने ताकाइचीको पार्टीलाई दुई तिहाइ बहुमत प्राप्त भएको छ ।
आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा उहाँको सत्तारूढ दल लिबरल डेमोक्रेटक पार्टी (एलडिपी) ले दुई तिहाइ बहुमत प्राप्त गरेको हो ।
प्रधानमन्त्री सानेले आफ्नो लोकप्रियताबाट प्राप्त चुनावी लाभलाई सुरक्षा, अर्थतन्त्र, आप्रवासन र सामाजिक नीतिमा व्यापक रूपान्तरण गर्ने प्रक्रिया अघि बढाउनुहुने भएको छ ।
संसदीय चुनावमा दुई तिहाइ बहुमत प्राप्त भएपछि उहाँले उक्त शक्तिलाई ठोस कानुनी र नीतिगत कदममा अनुवाद गर्ने तयारी सुरु गर्नुभएको हो । सोमबार उहाँले मन्त्रीपरिषद् पुनर्गठन गरी ढिलाइ भएको बजेटलाई अघि बढाउने प्रक्रिया सुरु गर्नुभयो । यसबाट आगामी साता हुने मतदानमार्फत उहाँ प्रधानमन्त्रीका रूपमा पुनः चयन हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री सानेले आफ्नो प्रयासले जापानलाई अझ बलियो र समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो । मत गणनाको नतिजा अनुसार उहाँ नेतृत्वको एलडिपीले ३१६ सिट जित्दै ४६५ सदस्यीय तल्लो सदनमा दुई तिहाइ बहुमत हासिल गरेको छ । यो सन् १९५५ मा पार्टी स्थापना भएयताकै उच्च जनमत हो ।
जापान इनोभेसन पार्टीसँगको गठबन्धनसहित सत्तारूढ गठबन्धनको कुल सिट सङ्ख्या ३५२ पुगेको छ । एलडिपी मुख्यालयमा उहाँले विजयी उम्मेदवारका नाममाथि रातो रिबन टाँस्दै खुसी व्यक्त गर्नुभयो ।
यद्यपि माथिल्लो सदनमा पूर्ण बहुमत नभए पनि तल्लो सदनको बलियो समर्थनले प्रधानमन्त्री सानेलाई अर्थतन्त्र र सैन्य क्षमताको विस्तारसम्बन्धी एजेन्डा अघि बढाउन सहज बनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्