३० पुष २०८२, बुधबार

नेपालले प्रक्षेपण गरेको सानो आकारको भूउपग्रह ‘मुनाल’ अन्तरिक्षमा अड्कियो

कोलोराडोखबर संवाददाता , January 14th, 2026

नेपाल । नेपालले प्रक्षेपण गरेको सानो आकारको भूउपग्रह (नानो स्याटेलाइट) मुनाल अन्तरिक्षमा अड्किएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को पहल र छिमेकी मुलुक भारत सरकारको सहयोगमा सोमबार प्रक्षेपण गरिएको नानो स्याटेलाइट मुनाल अन्तरिक्षको सही अर्बिटमा नपुगी मोडिएर अड्किएको हो ।

भारतको विदेश मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनको पहलमा श्रीहरिकोटस्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट सोमबार बिहान करिब १०ः३० बजे मुनाल भूउपग्रह प्रक्षेपण भएको थियो ।

काठमाडौँ विश्वविद्यालय तथा विभिन्न विद्यालयका उच्च माध्यमिक तहका विद्यार्थीले उक्त भूउपग्रह निर्माण गरेका थिए । दुई वर्षअघि निर्माण सम्पन्न भए पनि प्रक्षेपणको समय बल्ल मिलेको नास्टका सदस्यसचिव रवीन्द्र ढकालले जानकारी दिनुभयो ।

पाँच वर्षअघि प्रक्षेपण भएको नेपालको पहिलो भूउपग्रह नेपाली स्याट वान नामक भूउपग्रह अन्तरिक्षको ४०० किलोमिटरमाथि पुगेर सफल भएको थियो ।

ढकालका अनुसार अन्तरिक्षमा बेपत्ता भएको मुनाल भूउपग्रह भेटिए पनि आफ्नो कक्षमा फर्काउन सकिने अवस्था छैन । विद्यार्थीको मेहनत र नेपाल सरकारको प्रतीक्षामा तत्काल रोक लागेको छ, नेपालसहित अन्य भूउपग्रह पनि प्रक्षेपण रकेटमा थिए । अन्तरिक्षमै नपुगी असफल हुनुभन्दा अन्तरिक्षसम्म पुगेकोमा पनि सन्तोष मान्नुपर्ने ढकालले बताउनुभयो ।

उक्त भूउपग्रह करिब १.३ केजी तौलको रहेको थियो ।

मुनालको असफलतापछि अब परिमार्जनसहित ‘मुनाल टु’ भूउपग्रह निर्माण गर्ने जिम्मेवारी नास्टले लिएको छ । ‘मुनाल टु’ निर्माण तथा प्रक्षेपणका लागि आवश्यक सहयोग गर्ने भारतका वैज्ञानिकले जनाएको ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्