१९ पुष २०८२, शनिबार

गीत: कुराले मात्र राम्रो हुँदैन मान्छे…

कोलोराडोखबर संवाददाता , January 3rd, 2026

-आर. आर. चौलागाईं-

कुराले मात्र राम्रो हुँदैन मान्छे
कामले पनि राम्रो हुनुपर्छ
अनुहारले मात्र राम्रो हुँदैन मान्छे
व्यवहारले पनि राम्रो हुनुपर्छ ।

हेर्दा कति सुन्दर हुन्छ प्लास्टिकको फूल
तर त्यसमा वासना हुँदैन
हेर्दा कति गज्जब देखिन्छ ढुङ्गाको मान्छे
तर त्यसमा चेतना हुँदैन ।

हेर्दा कति कलात्मक हुन्छ सिसाको घर
तर त्यसमा तागत हुँदैन
हेर्दा कति सुनौलो देखिन्छ चित्रको तारा
तर त्यसमा चमक हुँदैन ।

हेर्दा कति छङछङ हुन्छ सिनेमाको नदी
तर त्यसमा पानी हुँदैन
हेर्दा कति विशाल देखिन्छ कागजको पहाड
तर त्यसमा खानी हुँदैन ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्