नेपाल । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४० वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी पर्यवेक्षणका लागि ५१ वटा संस्थाले निवेदन दिएका थिए । राष्ट्रियतर्फ १० र अन्तर्राष्ट्रियतर्फ एउटा संस्थाको आवेदन स्वीकृत भएन । आयोग पदाधिकारीको बुधबारको बैठकले थप नौ वटा राष्ट्रिय संस्थालाई अनुमति दिँदा निर्वाचन पर्यवेक्षण गर्ने संस्थाको सङ्ख्या ४० पुगेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ३६ वटा राष्ट्रिय र चार वटा अन्तर्राष्ट्रिय संस्थाले पर्यवेक्षणको अनुमति पाएको जानकारी दिनुभयो । उहाँले निवेदन दिएकामध्ये केहीले आंशिक पर्यवेक्षणको माग गरेकामा आयोगले त्यस्तो संस्थालाई अनुमति नदिएको प्रस्ट्याउनुभयो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा ४४ वटा राष्ट्रिय र दुई वटा अन्तर्राष्ट्रिय संस्थाले अनुमति पाएका थिए । जसबमोजिम अन्तर्राष्ट्रिय दुई संस्थाका १२ जना र राष्ट्रिय ४४ संस्थाका सात हजार २०७ जनाले निर्वाचन पर्यवेक्षण गरेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्