२८ मंसिर २०८२, आईतवार

४३ दलले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग नलिने

कोलोराडोखबर संवाददाता , December 14th, 2025

नेपाल । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दल दर्ता गराएका १४ वटा दलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग नलिने भएका छन् ।

आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या १४३ छ । प्रत्यक्षतर्फ २९ र समानुपातिकतर्फ ४३ वटा दलले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा भाग नलिने भएका हुन् ।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलको अन्तिम नामावली सार्वजनिक गर्दा प्रत्यक्षतर्फ दल दर्ता गराएका १४ वटा दलले समानुपातिकतर्फ निवेदन नै दिएनन् । २९ वटा दलले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ निवेदन दिएका छैनन् ।

आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार दल दर्ताका लागि एक सय वटा दलबाट ९३ वटा निवेदन परेकोमा सबै निवेदन स्वीकृत भएका छन् । १२ वटा दलले पाँच समूहमा एकल चुनाव चिह्न पाएका छन् । ८८ वटा दलले एक्लै प्रतिस्पर्धा गर्ने छन् ।

आयोगले दर्ता स्वीकृत भएका दललाई निर्वाचन चिह्नसमेत प्रदान गरेको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ११४ दलको १०७ वटा निर्वाचन चिह्न प्रयोग हुने गरी दर्ता स्वीकृत भई निर्वाचन चिह्न प्रदान गरिएकोमा समानुपातिकतर्फ निर्वाचन चिह्न लिने दलको सङ्ख्या ९३ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्