नेपाल । मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट दिएको राजीनामा स्वीकृत गरेर नयाँ मुख्यमन्त्रीका लागि प्रस्ताव आह्वान गरेका छन्।
संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूबाट बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई पर्सी शुक्रवार अपराह्न ५ बजेभित्र दावी पेस गर्न भनिएको छ।
यसअघि यादव संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत कात्तिक २३ गते यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि ७ दलका ७४ प्रदेशसभा सदस्यहरुले सर्वोच्चमा रिट दर्ता गराएका थिए।
सो रिटको सुनुवाई गर्दै मंसिर १५ गते सर्वोच्चले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिनका लागि परमादेश जारी गरेको थियो।
२४ घण्टा बितेको भोलिपल्ट बुधबार बसेको प्रदेशसभा बैठकमा आफूले विश्वासको मत नपाउने पक्का भएपछि उनले राजीनामा दिएका थिए।
बिहान साढे ८ बजे बोलाएको प्रदेशसभा बैठक मुख्यमन्त्री यादव उपस्थित नहुँदा तीन मिनेटमै स्थगित गरिएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्