नेपाल । नेपाल सरकारको मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई २९औँ मुख्य सचिवमा नियुक्त गरेको हो ।
अर्थ एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल सरकारका सचिवको वरिष्ठता कायम गर्दै मुख्य सचिवमा अर्याललाई नियुक्त गरिएको जानकारी दिनुभयो । बैठकले बुधबारदेखि लागु हुने गरी अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । मुख्य सचिव एकनारायण अर्यालले मङ्गलबारबाट ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउनुहुँदै छ ।
विक्रम संवत् २०८३ असार २६ गतेसम्म मुख्य सचिवको जिम्मेवारीमा रहनुहुने सुमनराज अर्याल २०७७ माघ १९ गते सचिवमा बढुवा हुनुभएको थियो । राष्ट्रिय किताबखाना (निजामती) का अनुसार उहाँ ५८ वर्षे उमेरहदकै कारण अवकाश प्राप्त गर्नुहुने छ ।
विसं २०५३ वैशाख १९ गते राजपत्राङ्कित तृतीय श्रेणीमा तथ्याङ्क अधिकृतको जिम्मेवारीमा शाखा अधिकृतबाट उहाँ निजामती सेवामा प्रवेश गर्नुभएको थियो । ज्येष्ठता र उत्कृष्ट कार्यसम्पादन गर्ने सचिवमध्येबाट मुख्य सचिव नियुक्त गर्ने परम्परा छ । सचिव भएपछि उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, महालेखा नियन्त्रक कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय योजना आयोग, विभिन्न प्रदेशको सचिवको जिम्मेवारी समाल्नुभएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्