नेपाल । नेपाल प्रिमियर लिग (एनपिएल) मा शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै सुदूरपश्चिमले दोस्रो जित दर्ता गरेको हो ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखरा पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १७५ रनमा समेटिएको हो ।
सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गर्नुभयो।यसैगरी विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाउनुभयो ।
पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको शतकीय साझेदारी गर्नुभयो।पोखराका लागि जिम्मी निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले दुईरदुई विकेट लिनुभयो।
जवाफी ब्याटिङ गरेको पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतक बनाउनुभयो।३२ बल खेल्दै समाचार चारचार चौका र छक्काको मद्दतमा ५३ रन बनाउनुभयो।जिमी निशमले २५ बलमा पाँच छक्का र दुई चौकासहित ४७ रन बनाउँदा डान डाउथवेटले आक्रामक ब्याटिङ गर्र्दै मात्र १६ बल खेलेर पाँच छक्का र एक चौकासहित ३७ रन बनाउनुभयो।
पोखरालाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि हरमित सिंहले दुई विकेट हात पर्नुभयो ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरूआत गरेको थियो। यो जितसँगै सुदूरपश्चिम चार अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा दोस्रो खेलमा पराजित भएको हो । पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको थियो ।
यसैबीच एनपिएल अन्तर्गत शनिबार दुई खेल हुने भएका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् । दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौँ गोर्खाज र विराटनगर किङ्स खेल्दै छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्