हेटौंडा (नेपाल) । नवसर्जक साहित्य चौतारी नेपाल, केन्द्रीय समितिको आयोजनामा चौतारीका संस्थापक सदस्य प्रभास घिमिरेको प्रथम स्मृति दिवसको सन्दर्भमा ‘प्रभास घिमिरेः सम्झना र सिर्जना’ नामक स्मृति ग्रन्थ लोकार्पण तथा अक्षयकोष स्थापना कार्यक्रमु हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष कृतिका लौडारीको अध्यक्षता एवम् हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका ४ न. वडाका अध्यक्ष नवीन सिग्देल, वडा न. ११ की अध्यक्ष जुना दाहाल, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल तथा चौतारीका केन्द्रीय संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा स्मृतिग्रन्थ प्रकाशन तथा अक्षयकोष स्थापनाका सन्दर्भबारे चौतारीका संरक्षक दीपक गौतमले प्रकाश पारेका थिए भने संप्रस पौडेलले प्रभासका रचना सङ्कलन, सम्पादन तथा सिस्नुपानी नेपाल मकवानपुरका कार्यक्रममा प्रभासको प्रस्तुतिबारे चर्चा गरे । त्यस्तै डा. निमेष निखिलले स्मृति ग्रन्थबारे टिप्पणी प्रस्तुत गरे ।
त्यस्तै जनार्दन खनाल, डिबी बर्तौला, कृतिका लौडारी, स्वस्तिका दाहाल, रचना भण्डारी, प्रबिना प्रयासी, स्वस्तिका बानियाँ, सुन्दर कँडेलले स्मृतिग्रन्थभित्रका प्रभासका कविता, गजल, मुक्तक तथा हास्यव्यङ्ग्य रचना वाचन गरे ।
कार्यक्रमकै सन्दर्भमा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, हेटौँडा–४ न. वडाका अध्यक्ष नवीन सिग्देल तथा ११ न. वडाकी अध्यक्ष जुना दाहालले अक्षयकोष स्थापनामा विशेष योगदान गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा उपस्थित व्यक्ति तथा संस्थाका तर्फबाट पनि करिब १ लाख बराबरको रकम सङ्कलन भएको थियो । नवसर्जक चौतारीका संस्थापक सदस्य रहेका २१ वर्षे प्रभासको गत वर्ष २०८१ कात्तिक २१ गते भारतको वृन्दावन जाने क्रममा सवारी दुर्घटनाका कारण लखनउमा निधन भएको थियो ।
छन्द कविता लेखन–वाचन, हास्यव्यङ्ग्य लेखन तथा प्रहसन एवम् धार्मिक कार्यक्रममा प्रवचनका क्षेत्रमा घिमिरे उदीयमान प्रतिभाका रूपमा रहेका र उनकै अमरत्वका लागि स्मृति ग्रन्थ प्रकाशन तथा अक्षयकोष स्थापना अभियानको थालनी गरिएको हो ।
कार्यक्रममा प्रभासकी माता पार्वती घिमिरे, पिता वृहस्पति घिमिरे, परिवारजन, परमानन्द संस्कृत गुरुकुलम्, देवघाटधामका गुरुजन तथा आफन्तजन एवम् मकवानपुरका साहित्य, कलासम्बद्ध सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि गरी १२५ जनाको उपस्थिति रहेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्