१७ कार्तिक २०८२, सोमबार

रवीन्द्र मिश्रको ‘माथिको आदेश छ’ कविता संग्रह सार्वजनिक

कोलोराडोखबर संवाददाता , November 2nd, 2025

नेपाल । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेका बखत लेखेका कविताहरूको संग्रह ‘माथिको आदेश छ’ सार्वजनिक गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा ‘जेनजी’ युवा र कवि मिश्रले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

“नेपालमा हिरासतमा बसेर आत्मसंस्मरण लेखिएका छन्, दैनिकी लेखिएका छन्, उपन्यास लेखिएका होलान्, तर यसरी कविता लेखिएको मैले थाहा पाएको छैन,” मिश्रले भने, “नेपालको सन्दर्भमा यो पुस्तक नयाँ प्रयोग हो कि भन्ने मेरो अनुमान छ ।” आफ्नो जीवनमा यो कवितासंग्रहको विशेष अर्थ रहेको उनको भनाइ छ ।

उनले यसअघि तयार अर्को कवितासंग्रहलाई थाती राखेर हिरासतको बसाइका क्रममा फुरेका कविता आफूले सार्वजनिक गरेको बताए ।

‘माथिको आदेश छ’मा संगृहीत कविता ‘हिरासतसँगको बाध्यात्मक संसर्गबाट जन्मिएका सन्तान’ रहेको उनले उल्लेख गरे । “यी कविता ‘हिरासतको ‘म’का आवाज, आवेग र आर्तनाद हुन्,” उनले भने ।

कार्यक्रममा मिश्रले ‘माथिको आदेश छ’, ‘म राज्यविरुद्धको कसुर भएँ’लगायत केही कविता वाचन समेत गरेका थिए ।

५० दिन हिरासतमा बस्दा मिश्रले ३५ कविता लेखेका थिए । तिनै कवितालाई उनले यो संग्रहमा संगृहीत गरेका हुन् । “कविताको सोच दिमागमा आउनु सामान्य हो, तर त्यो सोच कविताको स्वरूपमा अभिव्यक्त हुनु असामान्य हो । हिरासत बसाइमा मलाई निरन्तर रूपमा कविताका सोचहरू दिमागमा फुरेछन् र तिनलाई मैले कवितामा रूपान्तरण गर्न सकेछु,” उनले भने ।

मिश्रको यो दोस्रो कवितासंग्रह हो । उनको पहिलो कवितासंग्रह ‘रवीन्द्र मिश्रका कविता’ ०७१ सालमा छापिएको थियो । ‘माथिको आदेश छ’ फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्