नेपाल । मदन पुरस्कार गुठीले विसं २०८१ का लागि पूर्वघोषित जगदम्बाश्री सम्मान र कृति पुरस्कार एक समारोहबिच आइतबार स्रष्टालाई प्रदान गरेको छ । नेपाली लोकभाकाका सङ्कलक एवं संरक्षक प्रेमदेव गिरीलाई जगदम्बाश्री सम्मान र ‘उरमाल’ कृतिका लेखक छुदेन काविमोलाई मदन पुरस्कार प्रदान गरिएको हो ।
पाटनस्थित कमलमणि थिएटर, पाटनढोकामा आयोजित कार्यक्रममा स्रष्टाद्वयलाई सम्मानपत्रका साथमा पुरस्कार राशि चार–चार लाख रुपियाँ प्रदान गरियो । उक्त कार्यक्रममा संस्कृतिविद् प्राडा वीणा पौड्यालले विद्वत् प्रवचन दिनुभएको थियो । उहाँले ‘कला, प्रतिमा र संरक्षण’ शीर्षकमा आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । उहाँले पुरातत्वले मानिसको विगतलाई प्रमाणसहित उजागर गर्ने भएकाले यसको जगेर्ना गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
कार्यक्रममा ‘उरमाल’ का लेखक काविमोले प्रेम र साहित्यको सिमाना नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्यले जहिले पनि वञ्चित, शोषित र मानवीय कुरासँग सम्बन्ध राख्ने गर्छ र आफू त्यही मान्छेभित्रको मान्छेलाई बचाइराख्नका निम्ति हरसमय लेखिरहन उत्प्रेरित हुन्छु ।”
उहाँ भारतीय मूलका साहित्यकार हुनुहुन्छ । लोकभाकाका सङ्कलकरसंरक्षक गिरीले कर्णालीको सुर्खेतमा जन्मेर विसं २०२५ देखि विधिवत् रङ्गमञ्चीय यात्रा सुरु गरेको र २०२९ देखि २०४१ सम्म राष्ट्रिय नाचघरमा रङ्गमञ्चीय कर्ममा जुटेको अनुभव बताउनुभएको थियो । उहाँले २०४३ देखि २०४५ सम्म रेडियो नेपालमा मादलको ताल दिँदै कर्णाली भेरीका दुर्गम गाउँबस्तीका लोकगीत र लोकभाकालाई सङ्कलन गर्दाको अनुभव सुनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्