१७ आश्विन २०८२, शुक्रबार

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीद्वारा लिखित ‘मुटुका कुरा’ पुस्तक विमोचन

कोलोराडोखबर संवाददाता , September 29th, 2025

नेपाल । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीद्वारा लिखित ‘मुटुका कुरा’ पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तक बाथ मुटुरोग र जन्मजात मुटुरोग लागेर ओपन हार्ट सर्जरी गरी निको भएका दुई बालबालिका विशाल गजमेर र कल्पना तामाङको हातबाट विमोचन गरिएको थियो ।

विश्व मुटु दिवसको सन्दर्भमा नेपाल एनसिडी एलायन्स र रोटरी क्लब अफ पाटनको संयुक्त आयोजनामा भएको विशेष समारोहमा उक्त पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचन समारोहमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाश रेग्मीले उक्त पुस्तकले मुटु रोगबारे व्यापक जनचेतना जागृत गराउने जानकारी दिनुभयो ।

उहाँले आफ्नो अध्ययन, कार्य अनुभव र सेवाग्राहीका समस्या तथा सुझावसमेतका आधारमा ‘मुटुका कुरा’ पुस्तक तयार गरिएको जानकारी दिनुभयो । डा. रेग्मीले भन्नुभयो, “पुस्तकका सामग्री पाठकलाई रोचक र लाभदायी हुने छ ।” उहाँले पुस्तकले आमपाठक, बिरामी र तिनका आफन्तलाई मुटु स्वस्थ राख्नका लागि खानपान तथा जीवनशैलीमा कसरी ध्यान दिने भन्ने बारेमा सरल ढङ्गले उल्लेख गरिएको बताउनुभयो ।

पुस्तकका सम्पादक लक्ष्मण अधिकारीले पुस्तकमा मानिसको दैनिक जीवनमा उपभोग गरिने खाद्य पदार्थहरू अन्डा, घिउ, चिया, कफी, दुध, नुन, पानी, तेल, चामल, चिनी, खुर्सानी, जङ्क फुड, रक्सी, धूमपान, रक्सी र औषधीको अन्तरक्रिया लगायत स्वास्थ्यका ६१ वटा शीर्षकका सामग्री प्रकाशित गरिएको बताउनुभयो । कार्यक्रममा जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती, लेखक तथा पत्रकार श्रीरामसिंह बस्नेतले पुस्तकमाथि समीक्षा गर्नुभएको थियो ।

डा. रेग्मीले पुस्तकको बिक्रीबाट प्राप्त रकम मुटुरोग रोकथामका लागि उपयोग गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्